सेयर कारोबार समय बढाएकोमा सीएनआईको स्वागतः अध्यक्षलाई भेटेर दियो बधाई « Eglish Khabarhub

सेयर कारोबार समय बढाएकोमा सीएनआईको स्वागतः अध्यक्षलाई भेटेर दियो बधाई



काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पूँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताए । अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पूँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको बताए ।

सेयर कारोवारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताए ।

परिसंघले सरकारका दुई दर्जनभन्दा बढि निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गरेका छन् ।

भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पूँजी बजारको विकास र सुधारका लागि थप पहलहरु सुरु भएको बताए । हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर–आवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन अध्यक्ष ढुंगानाले आग्रह गरेका । धितोपत्र बजार मार्फत पूँजीको सृजना तथा परिचालनलाई महत्व दिएर उत्पादनमूलक र अन्य क्षेत्रको सहभागिता बढाउँदै सेयर बजारलाई थप सन्तुलित बनाउन आवश्यक रहेकोले परिसंघको सहयोग महत्वपूर्ण रहने पनि अध्यक्ष ढुंगानाले उल्लेख गरे ।

Publish on: