वाणिज्य बैंकको संख्या घटाउन मर्जरलाई प्राथमिकतामा राखिन्छ: गभर्नर अधिकारी « Eglish Khabarhub

वाणिज्य बैंकको संख्या घटाउन मर्जरलाई प्राथमिकतामा राखिन्छ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण यो वर्ष २० प्रतिशतले रेमिट्यान्स घट्ने बताएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालमा पनि असर पर्ने र त्यसको असर अर्को वर्ष झनै देखिने भएको छ ।
यस्तै पर्यटक पनि नआउने, बैदेशिक लगानीमा संकुचन आउँदा बाह्य क्षेत्र स्थायित्व चुनौतिपूर्ण बन्ने उनको भनाइ छ ।

त्यसको असर चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षमा झन धेरै असर देखिने गभर्नर अधिकारीले बताए । चालु आर्थिक वर्ष बाह्य क्षेत्र स्थायित्वमा दबाब नदेखिए पनि आगामी आर्थिक वर्ष दबाब पर्ने उनको भनाइ छ ।

‘आन्तरिक आपूर्ति प्रणाली सुदृढ बनाउन नसकिएमा मूल्यमा दबाब पर्ने छ, अर्थतन्त्रमा संकुचन आउने अवस्थालाई ध्यानमा राखेर आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने तथा उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्ने नीति लिनुपर्ने छ,’ गभर्नर अधिकारीले भने ।

यसका लागि प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी बढाउने र सहुलियत दिनेतर्फ ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अवलम्बन गरिँदै आएको मर्जर तथा प्राप्तिलाई वाणिज्य बैंकको हकमा थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

वित्तीय पहुँच बढाउने, वित्तीय मध्यस्थता लागत घटाउने तथा सुरक्षित भुक्तानी प्रणालीको विकास गर्ने कार्यलाई गति दिन वित्तीय प्रविधिको प्रयोगलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकता औंल्याए ।

मौद्रिक तथा वित्तीय क्षेत्रबाट आन्तरिक माग प्रवद्र्धन गर्न साधन प्रोत्साहित गर्ने र बाह्य क्षेत्र व्यवस्थापन गरी आर्थिक तथा वित्तीय सन्तुलन कायम गर्ने नीति लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

Publish on: