सिद्धार्थ बैंकको वितरण योग्य नाफा १५ करोड बढी ऋणात्मक « Eglish Khabarhub

सिद्धार्थ बैंकको वितरण योग्य नाफा १५ करोड बढी ऋणात्मक



काठमाडौं । सिद्धार्थ बैंकको वितरण योग्य नाफा ऋणात्मक रहेको छ । बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १५ करोड ३२ लाख १० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा पनि १५.८७ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा नाफा २५ करोड २९ लाख रुपैयाँले घटेर १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिसम्म बैंकले १ खर्ब ३० अर्ब ३४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ४० करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३६ बाट बढेर २.२४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात १.३६ प्रतिशत रहेको थियो । साथै बैंकको बेसरेट ९.९८ प्रतिशत, स्प्रेडरेट ५ प्रतिशत र सीसीडी रेसीयो ७८.७७ प्रतिशत छ ।

यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५३.४४ रुपैयाँ, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १५.२८ गुणा रहेको छ ।

Publish on: