काठमाडौं । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।
‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर फाल्न अवरोध भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भने, ‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत-जावतमा रोक लगाएको सूचना जारी गरेको छ । फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन् । तर, सवारी आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ ।’
लकडाउनको समेत वेवास्था गर्दै विभिन्न जिल्लाबाट हुने आवतजावतले उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेर अशान्त बनिरहेका बेला उक्त कार्यले थप समस्या भएको श्रेष्ठको भनाई छ ।
प्रमुख श्रेष्ठले कुनै माग भए महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमै अवरोध गर्ने कुरा उचित नभएको बताए । ‘तर, विभिन्न बाहनामा फोहोर फाल्न अवरोध गर्ने कुरा उचित होइन जस्तो लागेको छ,’ श्रेष्ठले भने, ‘जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुखद् हो । त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ ।’ उनले त्यहाँका जनप्रतिनिधि र स्थानीयलाई छलफलका लागि बोलाएको जानकारी दिए ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताए । ‘ककनी गाउँपालिकाले विज्ञप्ति नै निकालेर सवारी आवत-जावतमा रोक लगाई सिसडोलमा फोहोर फाल्न अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘विभिन्न बाहनामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन । मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु । उहाँहरुका माग के–के हुन् । व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ । तर, फोहोर नै रोक्ने कुरा हुँदैन ।’
दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फोहोरो फाल्ने बताए । ‘सिसडोलबासीले फोहोर विसर्जनमा पटक–पटक अवरोध गरेर समस्या सिर्जना गरेको कुरा सबैलाई जानकारी नै छ । त्यहाँका स्थानीयले विभिन्न बाहनामा फोहोरो फाल्न अवरोध गर्ने र काठमाडौँ महानगरपालिकाले उहाँहरुका माग पटक–पटक सम्वोधन गर्ने र फोहोर फाल्दै आएको छ,’ उनले भने, ‘पछिल्लो समस्याका बारेमा मैले त्यहाँका जनप्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेको छ । त्यहाँका जनप्रतिनिधिले स्थानीयका केही माग रहेको जानकारी गराउनु भएको छ । उहाँहरुको माग सम्वोधनका लागि काठमाडौँ महानगरपालिकाले छलफल गर्न तयार रहेको पनि भनेको छ । यस्तो अवस्थामा फोहोर विसर्जनमै अवरोध गर्ने कुरा उचित होइन ।’
दाहालले फोहोर व्यवस्थपन अत्यावश्यक सेवा भित्र पर्ने भएकाले रोक्ने नमिल्ने जानकारी गराएको बताए । ‘पहिलो कुरा फोहोर विसर्जनमा अवरोध गर्न पाइन्न् । स्थानीयका माग सम्वोधन गर्ने कुरामा महानगरपालिका प्रतिवद्ध छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यज्युसँग पनि पटक–पटक कुरा हुँदा उहाँ पनि सकारात्मक रहेको जानकारी पाएको छु । हामी पनि उहाँहरुको माग सम्वोधनका लागि पहल गर्छौ,’ उनले भने, ‘यति हुँदाहुँदै उहाँहरु फोहोर विसर्जनमै अवरोध गर्ने भन्नुहुन्छ भने बल प्रयोग गरे भए पनि फोहोर विसर्जनको प्रक्रिया अघि बढ्छ ।’
दाहालले त्यहाँका जनप्रतिनिधिले स्थानीयको स्वास्थ्य परिक्षणको माग गरेको जानकारी पाएको भन्दै ती मागप्रति सकारात्मक रहेको भन्दै मागका नाममा फाहोर विसर्जनमै अवरोध गर्ने कुरा उचित नहुने तर्क गरे ।
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यो उत्पादित फोहोर विसर्जन नहुने हो भने काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दुर्घन्धित हुने र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिए ।
SHARE YOUR THOUGHTS