काठमाडौं । पूर्वराजाको तस्बिर अंकित भएको नोट प्रयोगमा चलनचल्तीमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउनको लागि निर्देशन दिएको हो ।
पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटकोरुपमा वर्गिकरण गर्न निर्देशन दिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देश्क विश्रुत थापाले बताए ।
‘सफा नोट नीति कार्यान्यवन गर्न जारी गरेको परिपत्रअनुसार अब राजाको तस्बिर अंकित नोट चल्दैनन्,’ थापाले क्लिकमान्डुसँग भने, ‘यदि कोही कुनैपनि व्यक्ति वा संस्थासँग त्यस्ता नोट भएमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सटहीका लागि जम्मा गर्नुस् ।’
आफूसँग भएका त्यस्ता विभागमा जम्मा गरे त्यसवापत् राष्ट्र बैंकले चलनचल्तीलाई स्वीकृत गरेका नोट दिने उनले बताए ।
केन्द्रिय बैंकले जारी गरेको परिपत्र अनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन । त्यस्तो नोट पुनः निष्काशनका लागि अयोग्य ठहर गर्नु पर्नेछ । र, त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन मिल्दैन ।
बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोटकोषमा जम्मा गर्नुपर्नेछ र जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ ।
जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ ।
यससँगै राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न भनेको छ । बजारमा पठाउने नोटमा रबर वा प्लास्टिक वा कागजको ब्यान्ड प्रयोग गर्न निर्देशन दिएको छ ।
चलनचल्तकिा लागि पठाउने नोटलाई डिसइन्फेक्सन अनिवार्य रुपमा गर्नुपर्ने छ । नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।
SHARE YOUR THOUGHTS