कपाल काट्ने पेशाले दिनसक्छ ५० हजार नयाँ जागिर, युवालाई तालिमको खाँचो « Eglish Khabarhub

कपाल काट्ने पेशाले दिनसक्छ ५० हजार नयाँ जागिर, युवालाई तालिमको खाँचो



काठमाडौं । कोरोना भाइरसको कारण स्वदेश तथा विदेशमा वेरोजगार भएर फर्किएकाहरुलाई स्वरोजगार बनाउन सौन्दर्य कलाको तालिम दिनु पर्ने माग सरोकारवालाहरुले राखेका छन् । सौन्दर्य कला व्यवसायी संघले बजेटमा बेरोजगार भएकाहरुलाई संघ मार्फत केश काट्ने तालिम दिन सरकार सामु यस्तो माग राखेका हुन् ।

नेपालमा बर्षौ देखि केश काट्ने व्यवसाय भारतीय नागरिकहरुले सञ्चालन गर्दै आएका हुँदा हाल कोरोना भाइरसको कारणले उनीहरु स्वदेश फर्किएको र धेरै फर्किन सक्ने हुँदा यस व्यवसायमा नेपाली दाजुभाइलाई नै आवद्ध गराई स्वरोजगार तथा उद्यमी बनाउने उदेश्यले सरकारले यसका लागि आवश्यक बजेट छुट्याउने पर्ने नेपाल सौन्दर्य कला व्यवसायकी अध्यक्ष कमला क्षेष्ठले बताइन् ।

‘सरकारले सीप तालिम दिएर रोजगारी सिर्जना गर्ने भनेर विभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको छ,’ उनले भनिन् ‘संघले केश काट्ने तालिम दिएर नै ५० हजार जनालाई स्वरोजगारी बनाउने योजना बनाएको छ ।’ निजी क्षेत्रको प्रयासमा मात्र उक्त संख्यामा तालिम दिन सम्भव नहुने हुदाँ सरकारले पनि त्यसमा सहकार्य तथा समन्वयन गर्न आवश्यक पर्ने उनको भनाई छ ।
संघले सरकारको समन्वयन तथा सहयोगमा पहिलो चरणमा १ हजार जनाबाट तालिम शुरु गरी सातै प्रदेशका स्वदेश तथा विदेशबाट रोजगारी गुमाएका ५० हजार बेरोजगार युवालाई २ महिने तालिम दिने प्रस्ताव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङ्गलाई बुझाएका छन् । मन्त्री गुरुङ्गले संघको प्रस्तावले बेरोजगारीको समस्या समाधान गर्न धेरै सहयोग पुग्ने बताएका छन् । उनले संघको प्रस्तावलाई प्राथमिकताको साथ बजेटमा समावेश गर्न आश्वासन दिएका छन् ।

जसमा संघले तालिमका लागि आवश्यक पर्ने खर्चको केही प्रतिशत सरकारले सहयोग गर्नुपर्ने माग राखेका छन् । संघका अनुसार हाल २ महिने केश कटिङ्गको तालिममा २५ देखि ३० हजार रुपैयाँ खर्च लाग्छ । तालिमको केही प्रतिशत खर्च सरकार र संघको तर्फबाट ब्यहोर्न सकेमा युवाहरुले सस्तो शुल्कमा तालिममा सहभागी हुन सक्ने संघकी अध्यक्ष श्रेष्ठको तर्क छ ।

केश काटिङ व्यवसायमा अधिकांश भारतियहरु सञ्चालन गरेको र यसमा रोजगारी पनि भारतीय नागरिकले नै पाएका छन् । जस कारण नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।
तालिम पछि नेपाली युवाहरुले नै यो व्यवसाय सञ्चालन गरी नेपाली युवालाई नै रोजगारी दिनसक्ने हुँदा सरकारले पनि यसमा सहयोग गर्न आवश्यक देखिन्छ ।

कोरोनाको संक्रमण पछि र लकडाउन समाप्त पछि सुरु गर्ने भनिएको यस प्रकारको तालिममा महिला पुरुष दुवै सरिक हुन सक्ने हुदाँ आगामी दिनमा महिलाहरुले पनि कपाल काट्ने व्यवसायमा आवद्ध हुन सक्ने अध्यक्ष श्रेष्ठले बताइन् । हाल नेपालका ६५ जिल्लामा ६ हजार बढी सौन्दर्य कला व्यवसायीहरु छन् भने यस क्षेत्रले ३ लाख बढी युवालाई रोजगारी दिएको छ ।

Publish on: