काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ९ लाखबढी युवालाई जागिर दिने घोषणा गरेको छ ।
कोरोना भाइसरको कारण विदेशमा रोजगारी कटौती, स्वादेशमा नै रोजगारी कटौती भएका तथा बेरोजगार युवालाई रोजगारी दिने घोषणा सरकारले गरेको हो ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न क्षेत्रमा गरी ९ लाख १६ हजार जनालाई रोजगारी दिने घोषणा गरेको हो ।
जसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख जनालाई रोजगारी उपलब्ध गराउने सरकारको योजना छ ।
यस्तै, उत्पादन र सेवा क्षेत्रका हस्तकला, पलब्ङि, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगड, सिकर्मी, डकर्मी, सिलाइ कटाइ, ब्यटिसियन, कपाल कटाइलगायतका सीप विकास तालिम तथा प्रशिक्षण संघ र प्रदेशस्तरमा सञ्चालन गरी ५० हजारलाई रोजगारी दिइने बजेटमा उल्लेख गरिएको छ ।
श्रम सूचना बैकको सिफारिस विभिन्न उद्योगमा न्यूनतम २ वर्षका लागि ५० हजार जनालाई रोजगारी दिइने र त्यस्ता रोजगार प्रतिष्ठानलाई श्रमिकलाई दिने तलबको ५० प्रतिशत सरकारले ब्यहोर्ने अर्थमन्त्री खतिवडाले बताएका छन् ।
मन्त्री खतिवडाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट अनुसार सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम प्रदायक संस्थाको सुदृढीकरण गरी आगामी वर्ष ७५ हजार व्यक्तिलाई सीपमूलक तालिम प्रदन गरी रोजगारी दिइने उल्लेख छ ।
साना किसान विकास लघु वित्त संस्था मार्फत सञ्चालित साना किसान कर्जा कार्यक्रमबाट थप ४० हजारलाई रोजगारी सिर्जना गरिनेछ ।
युवा स्वरोजगार कोषको स्वरोजगार कर्जा कायक्रमको माध्यमबाट थप १२ हजार युवा स्वरोजगार बनाउने, गरिबका लागि लघुउद्यमलगायतका उद्योग क्षेत्रका कार्यक्रममार्फत १ लाख २७ हजारलाई रोजगारी दिइने उल्लेख छ ।
यस्तै, वन पैदावारमा आधारित उद्यम, कृषि वन, नर्सरी, स्थापना तथा वृक्षरोपण, संरक्षित क्षेत्र, जडिबुटी उत्पादन तथा प्रशोधनलगायतका कार्यक्रमबाट ३० हजार जनालाई रोजगारी प्रदान गरिने उल्लेख छ ।
कृषि, लघु तथा साना उद्योग क्षेत्रमा थप १ लाख ५० हजार जनालाई रोजगारी सिर्जना गर्ने घोषणा सरकारले गरेको छ ।
बेरोजगारी बढ्दै, सरकारले कहिले समेट्ला ?
नेपालको कुल जनसंख्याको ११ प्रतिशत जनसंख्या बेरोजगार छन् । वर्षेनी श्रम बजारमा ५ लाख युवा रोजगारीको लागि तयार हुन्छन् ।
सरकारले घोषणा गरेको रोजगारीले सामान्य अवस्थामा बेरोजगार भएका युवाहरुलाई समेत पूर्ण रुपमा समेट्न सक्ने अवस्था देखिन्दैन ।
अर्कोतर्फ सरकारले कोरोनाको कारण नै सो संख्यामा रोजगारीको कार्यक्रम घोषणा गरेको उल्लेख गरिरहँदा कोरोनाको कहरमा बेरोजगार भएका युवालाई सो सरकारले घोषणा गरेको रोजगारमा एक चौथाइ बेरोजगारलाई पनि समेट्न सकिने अवस्था छैन् ।
कोरोनाको कारण स्वदेशमा औपचारिक तथा अनौपचारिक क्षेत्रका २० लाख श्रमिकको रोजगारी कटौती भएको र हुने अवस्थामा रहेको जानकारहरु बताउँछन् ।
साथै बैदेशीक रोजगारीमा रहेका नेपालीहरु रोजगारी कटौती भएर करिब १० लाखको हाराहारीमा नेपालमा रहने अनुमान गरिएको छ ।
नेपालमा कोरोनाको कहरले करिब ३० लाख जनाको रोजगारी काटौती भएर बेरोजगार भएको अवस्थामा सरकारले भने ९ लाख १६ हाजार जनालाई मात्र रोजगारी दिने घोषणा बजेटमार्फत गरेको छ ।
अर्कोतर्फ कोरोनाको कहरले पर्यटन क्षेत्र करिब ३ महिना अगाडिबाट बन्द छ । जसकारण यस क्षेत्र प्रत्यक्ष र अप्रत्य रुपमा रोजगारी दिएको साढे १० लाख श्रमिकको रोजगारी कटौती हुने अवस्थामा छ भने धेरै रोजगारविहीन भइसकेका छन् ।
SHARE YOUR THOUGHTS