कोरोना कहरले सबै स्थानीय तहमा बैंकको शाखा बिस्तार योजना रोकियो « Eglish Khabarhub

कोरोना कहरले सबै स्थानीय तहमा बैंकको शाखा बिस्तार योजना रोकियो



काठमाडौं । कोरोना महामारीका कारण सबै स्थानीय तहमा बैंकका शाखा बिस्तारको क्रम रोकिएको छ । बैंकिङ पहुँच पुर्याउने योजना अनुरुप सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने नेपाल राष्ट्र बैंकले लिएको लक्ष्य लिएको थियो ।

लकडाउन अगाडिसम्म ७ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा बिस्तार हुन बाँकी थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य राखेको थियो ।

तर चालु आव सकिन करिब ४ महिनाअघि लकडाउन शुरु भएपछि शाखा बिस्तारको क्रम रोकिएको हो । चालु आव सकिन ३ साता बाँकी रहदाँ अझै ७ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको कारण सम्पूर्ण अर्थतन्त्र र बैंकिङ क्षेत्रमा असर परेको हुँदा चालु आवभित्र नै बाँकी रहेको स्थानीय तहमा बैंकको शाखा बिस्तार नहुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘बैंकको शाखा पुग्न बाँकी रहेका स्थानीय तहमा कोरोना भाइरसले उत्पन्न गराएको संकटका कारण केही ढिला हुनसक्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर यो आर्थिक वर्षमा लक्ष्य पूरा गर्न गाह्रो भए पनि आगामी आर्थिक वर्षमा भने बाँकी रहेका स्थानीय तहमा शाखा बिस्तारको लक्ष्य पूरा हुन्छ ।’

बैंक नपुगेको स्थानीय तहमा शाखा बिस्तार गर्नका लागि राष्ट्र बैंकले थप सहुलियत तथा सुविधा दिने उनले जानकारी दिए ।

‘सरकारको सबै खर्चको व्यवस्थापन, राजश्व संकलनलगायत सबै सरकारी कारोबार स्थानीय तहमा रहका वाणिज्य बैंकको शाखाबाट नै हुने हो,’ उनले भने, ‘सोही कारण सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा आवश्यक पर्छ ।’

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा विकास निमार्णको गतिशिलता अवरोध आउने हुँदा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार गर्ने लक्ष्य सरकारले नै राखेको हुँदा हरेक स्थानीय तहमा १ वटा वाणिज्य बैंकको शाखा खोल्नुपर्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैसाख मसान्तसम्म प्रदेश २ र प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छन् । प्रदेश २ मा १३६ र प्रदेश ५ का १०९ स्थानीय तहमा नै वाणिज्य बैंकका शाखा बिस्तार भएका हुन् ।

हालसम्म प्रदेश १ को १३७ स्थानीय तहमध्ये ताप्लेजुङ्गको लुंका खोला गाँउपालिका, बागमती प्रदेशको ११९ वटा स्थानीय तहमध्ये २ वटमा धादिङ्गको रुबीभ्याली गाँउपालिका, धादिङ्गको नेस्रावती गाउँपालिकामा बैंकका शाखा पुगेको छैन् ।

यसैगरी गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये मनाङ्गको नार्खु गाँउपालिका, कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये जाजरकोटको जुलीचाँदे गाँउपालिका र सुदुर पश्चिमको ८८ वटा स्थानीय तहमध्ये बझाङ्गको काँडा गाँउपालिका र बाझङ्गको थराला गाउँपालिका गरी जम्मा ७ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छैन् ।

हाल नेपालमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंकले वित्तीय कारोबार गरिरहेका छन् ।

बैशाख मसान्तसम्म वाणिज्य बैंकको ४ हजार २१९ वटा, विकास बैंकको १ हजार २१६ वटा, वित्त कम्पनीको २३९ वटा, पुर्वाधार विकास बैंक १ वटा र लघुवित्त संस्थाको ४ हजार २१ वटा गरी कुल ९ हजार ६ सय ९५ बैंक तथा वित्तीय संस्थाको संख्या र शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

Publish on: