काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य शुरु गर्ने भएको छ ।
इतबार एक सूचना जारी गर्दै विभागले आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गरिने जानकारी दिएको छ ।
विभागका अनुसार यसका लागि असार २१ गतेदेखि अनलाइनमार्फत् सवारी धनीले इम्बोस्ड नम्बर प्लेटका लागि फारम भर्न सक्नेछन् । त्यसपछि उक्त फारम प्रिन्ट गर्नुपर्नेछ ।
विभागका अनुसार अहिले बागमती प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ । त्यसैगरी हालसम्मको राजस्व चुक्ता नभएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरिने विभागले स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिनु पूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनुपर्नेछ ।
दुई पांग्रे सवारीको हकमा यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा २ हजार ५ सय राजस्व बुझानुपर्नेछ । साथै अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा राजस्व बुझाउनुपर्नेछ ।
विभागका अनुसार तीन पाङ्गे्र सवारीका लागि २ हजार ९ सय र चार पांगे्र साना तथा मझौला सवारीका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नुपर्नेछ ।
सवारीको कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजातसहित अनलाइन आवेदनको प्रिन्ट कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ ।
इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालयमार्फत प्रमाणिकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रक्रिया शुरु हुनेछ । र, प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएसमार्फत् गराइनेछ ।
इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएसमार्फत् नै रोज्न सक्नेछ ।
SHARE YOUR THOUGHTS