मेलम्चीको पानी आउनै लाग्दा ३५ हजार मिटर पाइप क्षतिग्रस्त, कहिले बन्ला ? « Eglish Khabarhub

मेलम्चीको पानी आउनै लाग्दा ३५ हजार मिटर पाइप क्षतिग्रस्त, कहिले बन्ला ?



काठमाडौं । २७ वर्षपछि मेलम्चीको पानी काठमाडौं आउँनै लाग्दा काठमाडौंबासीका घरघरमा पानी पुर्याउने ३५ हजार मिटर पाइप क्षतिग्रस्त अवस्थामा छन् । जसले गर्दा मेलम्चीको पानीको बहाव काठमाडौंका ती पाइपले थेग्न नसक्ने भएका हुन् ।

यसले काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने भयो भनेर खुसी मनाइरहेकाहरुका लागि निराश बनाएको छ ।

आइतबार सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङमा पानी पठाएर धुमधामसँग परीक्षण थालिए पनि ती पाइपको अवस्था हेर्दा काठमाडौंका उपभोक्ताले छिट्टै पानी पिउन भने पाउने छैनन् ।

आगामी २ महिनाभित्र काठमाडौंका धारामा पानी आउने तयारी भइरहेको सम्बद्ध सरकारी निकायले बताइरहेको बेला झण्डै ३५ किलोमिटर बराबरको क्षेत्रमा बिछ्याइएको पाइप क्षतिग्रस्त छ ।

सडक विभाग, ढल निकासका लागि सडक खनिँदा ३५ किलोमिटर क्षेत्रमा पाइप क्षतिग्रस्त भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यालय निर्देशनालयका अनुसार मेलम्चीको पानी आपूर्ती गर्ने तयारी भइरहँदा ३५ हजार ९२ मिटर पाइपलाइन क्षतिग्रस्त भएको उल्लेख गरेको छ ।

निर्देशनालयका अनुसार सो पाइपको कुल लागत १६ करोड ४ लाख ५० हजार ९८ रुपैयाँ बराबरको छ । तेस्रो पक्षले सडक निर्माण तथा पुनरस्थापना तथा ढलका पाइप बिछ्याउने क्रममा उक्त परिमाण बराबरको क्षति भएको हो । जसका कारण मेलम्चीको पानी धारामा आउँला भनेर प्रतिक्षा गरिरहेका काठमाडौंबासीलाई निराश बनाउन सक्छ ।

निर्देशनालयले आयोजनामार्फत् काठमाडौं उपत्यकामा वितरण हुने वितरण सञ्जालका १२ सय किलोमिटर पाइप बिछ्याउने मिटरसहितका धारा जडान कार्य भइरहेको छ । सो कार्य चलिरहेका बेला विगतमा नै बिछ्याइएका पाइपमा क्षति पुग्दा देखिएको समस्याले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन समस्या पर्ने निर्देशनालयले गुनासो गरेको छ ।

पाइप सञ्जाल विछ्याइएका स्थानमा सडक खन्न परेमा निर्देशनालयको समेत सहमति लिनुपर्नेमा त्यसो नगरी धमाधम पाइपमाथि क्षति पुर्याउनु सरकारी स्रोतमाथिको आक्रमण मात्रै नभइ उपत्यकाबासीको चाहनामाथि समेत आक्रमण भएको निर्देशनालयका एक अधिकारीले बताए ।

निर्देशनालयले पाइपमा क्षति पुगेको खण्डमा जसले क्षति पुर्याउँछ त्यसैबाट असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।

Publish on: