काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बन्द विमान कम्पनीहरुलाई पार्किङमा ७५ प्रतिशत छुट दिइने भएको छ । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारकाले मनोरञ्जनात्मक वायुसेवा कम्पनीहरुलाई गत चैत १ गतेदेखि लकडाउन खुलेको मितिदेखि एक महिनासम्म पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी आन्तरिक एवम् अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित पसल, रेष्टुराँ, लाउञ्ज, बैंक, मनि एक्सचेञ्ज, सवारी पार्किङलगायत सेवामा त्यस्ता कम्पनीलाई पनि चैत १ गतेदेखि लकडाउन खुलेको मितिले १ महिनासम्म बहाल करमा ७५ प्रतिशतका दरले छुट दिने समेत निर्णय गरेको उनले बताए ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ बमाजिम नियमित रुपमा बुझाउनु पर्ने विमानस्थल शुल्क भुक्तानी गर्ने अवधि बढाएर सन् २०२० डिसेम्बर ३१ तारिखसम्म कायम गर्ने निर्णय गरेको छ । साथै सो अवधिमा बुझाएमा विलम्ब शुल्क नलाग्ने समेत निर्णय सरकारले गरेको छ ।
वायुसेवा सञ्चालन नविकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरिएको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS