काठमाडौं । उद्योगी दिवाकर गोल्छाले ३० वर्ष अगाडि स्थापना गरेको उद्योग उनको निधन भएको एकवर्षपछि छोरा हितेश गोल्छाले सधैका लागि बन्द गर्ने निर्णय गरे ।
२०५१ सालमा दिवाकर गोल्छाले स्थापना गरेको उद्योग उनका छोरा हितेशले गतसाता सधैका लागि बन्द गर्ने निर्णय लिए । तर उद्योग बन्द भएको भोलिपल्ट सरकारले नै ३० हजार मेट्रिक टन आयात गर्नका लागि दुई सरकारी संस्थानलाई अनुमति दिएको छ ।
सेयर बजारमा श्रीराम सुगर मिलको ३० लाख ४५ हजार ९९० कित्ता सेयर सूचिकृत थियो ।
नेपालमा गोल्छा अर्गनाइजेशन उद्योग क्षेत्रमा ठूलो लगानी गरेको व्यवसायिक घराना हो । गोल्छा अर्गनाइजेशनमा अशंबण्डा हुँदा दिवाकरको नै भागमा श्रीराम सुगर मिल आएको थियो । नेपालमा चिनी उद्योगको छवी राम्रो छैन । शतप्रतिशत भ्यालु एड गर्न सक्ने भएपनि किसानलाई दिनुपर्ने रकम नदिने प्रवृति चिनी उद्योगको छ ।
नेपालमा चीन बन्द हुने चिनी उद्योगमा श्रीराम चिनी उद्योग पहिलो होइन । पछिल्लो समय बन्द भएको यो चौथो चिनी उद्योग हो । यसअघि सरकारी लगानीको लुम्बिनी चिनी उद्योग, इन्दुशंकर चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग बन्द भइसकेका छन् ।
गोल्छा अर्गनाइजेशनले स्थापना गरे पनि श्रीराम सुगर मिलको व्यवस्थापन राम्रोसँग शुरुदेखि भएको थिएन । जसको कारण गोल्छा अर्गनाइजेशनले पछिल्लो समय आक्रामक ढंगले व्यवसायमा उदाएको अर्को व्यवसायिक घराना विशाल ग्रुपलाई साझेदारको रुपमा भित्राएपनि उद्योग चल्न नै सकेन ।
किसानलाई २७ करोड रुपैयाँ तिर्न बाँकी छ भने बैंकलाई २७ करोड रुपैयाँ दिन बाँकी छ । श्रीराम सुगर मिल बन्द हुनुले नयाँ पुस्ता उद्योगतर्फ नजाने संकेत समेत देखिन्छ ।
व्यवसायमा इन्ट्री र एक्जिट भन्ने कुरा सामान्य भएपनि नयाँ पुस्ताको हातमा आएपछि चलेको उद्योग बन्द हुँदा राम्रा सन्देश गएको छैन । हितेश गोल्छाले सरकारको कारण चलाउन नसक्ने वातावरण भएपछि उद्योग बन्द गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
‘नयाँ पुस्ताले परिवारले विरासतमा बनाएको उद्योग नै बन्द गरेर इजीमनीमा जाने संकेत श्रीराम सुगर मिल बन्द भएको घटनाले देखाएको छ, यो उद्योगका लागि खास गरेर राम्रो संकेत होइन,’ एक उद्योगीले भने ।
नेपालमा उद्योग चलाउन ज्यादै धेरै खाले समस्या छ । यसमा चिनी उद्योगको समस्या धेरै छ । पछिल्लो समय चिनी उद्योग धरासायी बन्नुको कारण दुईवर्ष अगाडि पाकिस्तानबाट सस्तो मूल्यमा आएको चिनी प्रमुख कारण हो ।
नेपालमा वार्षिक साढे २ लाख टन चिनीको माग हुने गर्छ । सो वर्ष पाकिस्तानबाट करिब डेढ लाख चिनी आयात भएको थियो । जसको मार नेपाली उद्योगीले भोग्नुपर्यो । सरकारले चिनी उद्योगीको आग्रहमा आयातमा प्रतिबन्ध लगाएपनि चिनी उद्योगको अधोगती त्यहीबाट शुरु भयो ।
जसको कारण श्रीराम सुगर मिल थला नै पर्यो । श्रीराम सुगर मिल बन्द हुनुमा सरकारी नीतिसँगै उद्योग व्यवस्थापन गर्न नसक्नु लगानीकर्ता समेत उतिकै जिम्मेवार छन् ।
नेपालमा सञ्चालित उद्योगमा शतप्रतिशत भ्यालु एड गर्न सकिने उद्योग चिनी मात्रै हो । जसको हरेक वस्तुको उपयोग हुन्छ । आफै विजुली उत्पादन गर्न सक्ने र कुनैपनि वस्तु खेर नजाने उद्योग सायदै अरु कुनै होला ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल नयाँ पुस्तालाई उद्योग त्यसमा पनि चिनी उद्योगमा केन्द्रित हुनेमा शंका व्यक्त गर्छन् ।
दुईवटा चिनी उद्योग सञ्चालन गरेका एमएस ग्रुपका निर्देशक समेत रहेका अग्रवालले क्लिकमाण्डूसँग भने, ‘मेरो आफ्नो छोराको रुचि पनि चिनी उद्योगमा छैन, हस्पिटालिटी क्षेत्रमा बढी छ ।’
उद्योगमा लगानी केन्द्रित गरेको एमएस ग्रपले पछिल्लो समय होटल क्षेत्रमा लगानी बढाएको छ ।
‘सरकारले चिनी उद्योगलाई सहुलियत दिन नसक्दा उद्योग बन्द हुनुपुग्यो, पाकिस्तानबाट आएको चिनीको मार अहिले हामीले भोग्नुपरेको छ,’ अग्रवालले थपे ।
SHARE YOUR THOUGHTS