कोरोना भाइरसको कारण आयात घटेपछि शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा « Eglish Khabarhub

कोरोना भाइरसको कारण आयात घटेपछि शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा



काठमाडौं । कोरोना भाइरसको कारण आयात घटेपछि देशमा भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गतवर्ष २०७६/७७ को वार्षिक तथ्यांक अनुसार शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा गएको छ । गतवर्षको असार मसान्तमा शोधानान्तर ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा थियो ।

गतवर्ष कोरोना भाइरसको कारण आयात १५.६ प्रतिशतले घटेको छ । गतवर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस्तै निर्यात भने ९७ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम
भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो ।

व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

कोभिडको कारण ठूलो अनुपातमा रेमिटेन्स घट्ने अनुमान भएपनि रेमिटेन्स भने नघटेको देखिन्छ । गतवर्ष ८ खर्ब ७५ अर्ब रुपैयाँको रेमिटेन्स आएको थियो । जसले गर्दा शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा गएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । कोभिडले गर्दा मूल्यबृद्धि बढेको देखिएको छ । यस्तै अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।

Publish on: