काठमाडौं । सोमबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार पनि घटेको छ । बिहीबार मात्रै अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।
यसरी पछिल्लो ४ दिनमा मात्रै सुनको मूल्यमा प्रतितोला ४१ सयले गिरावट आएको छ ।
सोमबार ९७ हजार २ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार आइपुग्दा ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य सोमबारको तुलनामा मंगलबार १७ सय रुपैयाँले घटेको थियो भने बुधबार १२ सय र बिहीबार पनि १२ सय रुपैयाँले घटेको हो ।
त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लाग्न थालेको छ । एक महिना अघि अगस्ट ६ तारिखमा सुनको मूल्य हालसम्मकै उच्च २०७०.०५ डलर प्रतिऔस पुगेको सुनको मूल्य त्यसयता घटेर सेप्टेम्बर २४ तारिखमा आइपुग्दा प्रतिऔसमा २१७.९४ डलरले घटेर १८५२.११ डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुन चाँदी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सु्नको मूल्य प्रतितोला ८५ हजारसम्म आउने सक्ने आँकलन गरेका छन् । उनका अनुसार कोरोना भाइरसको भ्याक्सिन निर्माण हुन शुरू गरेको र मानिसहरु सुनसँगै अन्य क्षेत्रमा पनि लगानी बढाएका कारण सुनको मूल्य आरोलो लागेको बताए ।
SHARE YOUR THOUGHTS