भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालमा « Eglish Khabarhub

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालमा



काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आएका हुन् । विदेश सचिव बनेपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको छ । श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गर्नेछन् भने उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।

भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । विदेश सचिव श्रृंगला नेपाल रहँदासम्म द्धारिका होटलमा बस्नेछन् ।

भारतीय विदेश मामिला मन्त्रालयले यसअघि नै विदेश सचिव श्रृंगलाको भ्रमण औपचारिक हुनुका साथै नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहेको बताएको थियो ।

Publish on: