काठमाडौं । मंसिर महिनालाई निर्माणको शुरुवाती महिनाका रुपमा पनि लिने गरिन्छ । यसअघिका वर्षहरुलाई आधार मान्ने हो भने यो वर्षको मंसिरमा पनि निर्माण सामाग्री सिमेन्ट, रड, गिट्टी–बालुवा, इट्टालगायतको मूल्य बढ्नुपर्ने हो ।
तर, अन्य निर्माण सामाग्रीको मूल्य बढे पनि सिमेन्टको मूल्य लगातार घटिरहेको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार दशैंअघिको तुलनामा अहिले बोरामै ४० रुपैयाँजतिले सिमेन्टको मूल्य घटेको छ ।कोरोनाले अधिकांश परियोजना अन्यौल र बजारमा निर्माण कार्य कम भएसँगै सिमेन्टको मूल्य घटेको उनले जानकारी दिए ।
‘मागको तुलनामा उत्पादन धेरै छ, जसकारण सिमेन्ट उद्योगबीच मूल्य घटाएरै भएपनि उत्पादन बिक्री गर्ने तीब्र प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष थापाले भने, ‘व्यवसायीहरु ठप्प हुनुभन्दा सस्तोमै बिक्री गरेर भए पनि लागतसम्म उठाउन खोजिरहेका छन् ।’
अर्घाखाँची सिमेन्टका सहायक महाप्रबन्धक रमेश थापाका अनुसार मंसिर महिनामा मात्रै प्रतिबोरा २० रुपैयाँका दरले सिमेन्टको मूल्य घटेको छ ।
गत फागुनदेखि घट्न थालेको सिमेन्टको मूल्य अहिलेसम्म आइपुग्दा बोरामै डेढसय रुपैयाँभन्दा बढीले घटेको दक्षिण ललितपूर हार्डवेरका सञ्चालक कृष्ण तिम्सीना बताउँछन् ।
‘गत वर्षको माघसम्म हामीले ९०० रुपैयाँमा बिक्री गर्दै आएको सिमेन्ट अहिले ७१५ रुपैयाँमा र ७०० मा बिक्री गर्दै आएकोलाई प्रतिबोरा ५१० देखि ५१५ रुपैयाँमा बिक्री वितरण गर्दै आएका छौं,’ तिम्सीनाले क्लिकमाण्डूसँग भने, ‘हाताहातीमा किन्दा कम्पनीहरुले निकै सस्तोमा सिमेन्ट उपलब्ध गराइरहेका छन् ।’
तिम्सीनाको हार्डवेरले सिजी, युनाइटेड, मंगलम, अल्फा, अग्नि लगायतका सिमेन्ट बिक्री गर्दै आएका छन् ।
‘लकडाउनपछि सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँजतिले घटेको छ, गत वर्षको माघसँग तुलना गर्ने हो भने प्रतिबोरा २०० रुपैयाँको हाराहारीसम्म घटेको छ,’ तिम्सीनाले भने ।
मंसिर लागेपछि केही बिक्री बढेको उनले सुनाए । यद्यपि मूल्य भने घटिनै रहेको उनले जानकारी दिए ।
मंसिर महिना सिमेन्ट लगायत निर्माण सामाग्रीको माग बढ्ने र माग बढेपछि मूल्य बढ्ने सिजन भए पनि यो मंसिरमा सिमेन्टको मूल्य घटेको अर्घाखाँची सिमेन्टका सहायक महाप्रबन्धक थापा बताउँछन् ।
‘एकातिर कोरनोका र लकडाउनका कारण बजारमा माग छैन, अर्कातिर डण्डी, जीआई, जिआई वायर, नदीजन्य निर्माण सामग्रीको मूल्य बढेको छ, जसकारण सिमेन्टको मूल्य कम भए पनि मान्छेहरुले अन्य सामाग्रीको मूल्य बढेका कारण घर बनाइहाल्ने नगरेका हुनसक्छन्,’ थापाले भने ।
एउटा घर बनाउनका लागि लाग्ने कूल लागतगको ७/८ प्रतिशत लागतको हिस्सा सिमेन्टको हुन्छ भने ९/१० प्रतिशत हिस्सा डण्डी र छड लगायतको हुने इन्जिनियरहरु बताउँछन् ।
कोभिडका कारण बजारमा माग नभएपछि सिमेन्ट उद्योगहरूले आफ्नो क्षमताको ३०र४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।
उद्योगले सिमेन्ट बढीमा २र३ दिनमात्रै स्टक राख्न सक्छन् । जसकारण उत्पादित सिमेन्ट बजारमा पठाइहाल्नुपर्ने बाध्यता छ । त्यसैले उत्पादित सिमेन्ट सस्तोमै बजारमा पठाएका हुन् ।
आफ्नै क्लिंकर हुनेहरुलाई ठूलो असर नगरे पनि आफ्नै क्लिंकर नहुनेहरुलाई भने यसरी मूल्य घट्दा समस्या परेको व्यवसायीहरु बताउँछन् ।
अहिले नेपालमा सिमेन्टको माग वार्षिक एक करोड टन हाराहारी रहेको छ । जबकि सिमेन्ट उद्योगहरूको जडित ९उत्पादन० क्षमता वार्षिक डेढ करोड टन पुगिसकेको छ ।
जग्गाको कित्ताकाटमा सरकारले गरेको कडाइका कारण आवासिय घर निर्माणमा असर परेकाले व्यवसायीहरुको बुझाइ छ ।
उधारोको समस्या
सिमेन्ट उद्योगीको अर्को समस्या हो उधारो । अर्बौ बक्यौता उठ्न बाँकी रहेपछि सिमेन्ट उत्पादक संघले गत साउन १ गते उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेको थियो ।
उद्योगहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि नगदमा मात्रै सिमेन्ट बेच्ने निर्णय गरिए पनि पूरानो बक्यौता नउठ्दा भइरहेको व्यवसायीहरुको भनाइ छ ।
नेपालका उद्योगीहरुको नयाँ नियम अनुसार निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारोमा सामान दिनुपर्ने भए अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ । यस्तो उधारोको अधिकतम अवधि ६० दिनसम्म मात्रै हुनेछ ।
SHARE YOUR THOUGHTS