काठमाडौं । विद्युतीय माध्यममार्फत् हुने कारोबार एक महिना नै १९.७३ प्रतिशतले घटेको छ । असोज महिनाको कात्तिक मसान्तसम्म विद्युतीय कारोबार ५ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँले घटेको हो ।
कात्तिक महिनामा दशैं तिहार जस्ता चाडपर्वको बिदा परेको हुँदा सो महिनाका विद्युतीय कारोबार घटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।
‘चाडपर्वलाई आवश्यक पर्ने रकम असोज अन्तिमसम्म सर्वसाधारणले बैंकबाट झिकिसकेका थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘सो समयमा समयमा बैंक समेत विदा हुँदा आरटीजीएस, इसीसी,आइपीएस र कनेक्ट आइपीएसको कारोबार घट्दा कारोबारमा ठूलो परिवर्तन देखिएको हो ।’
सार्वसाधरणले आवश्यक उपभोग्य वस्तु तथा अन्य सामान समेत चाडपर्व शुरु हुनु अघि असोजमा नै खरिद गरेका हुँदा सम्पूर्ण विद्युतीय कारोबारको संख्या र रकम नै कात्तिकमा घटेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक मसान्तसम्म एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पीओएस, क्यूआरकोड, डेविट कार्ड, क्रेडिटकाड, प्रिपेड कार्ड, शाखारहित बैकिङ्ग र वालेटमार्फत् २० खर्ब ५० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । असोज महिनामा २५ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँ विद्युतीय कारोबार भएको थियो ।
तथ्यांकअनुसार असोज महिनाको तुलनामा कात्तिकमा आटीजीएस कारोबार २१.२० प्रतिशत, इसीसी २०.६५ प्रतिशत, आइपीएस २७.१६ प्रतिशत र कनेक्ट आइपीएस १७.२९ प्रतिशतले कारोबार घटेको छ ।
त्यसैगरी इन्टरनेट बैंकिङ १३.९१ प्रतिशत, मोबाइल बैंकिङ १०.९४ प्रतिशत, शाखारहित बैंकिङ ५.३० प्रतिशत र वालेटमार्फत् हुने कारोबार ३.१६ प्रतिशतले असोज महिनाको तुलनामा कात्तिक महिनामा कारोबार घटेको छ ।
कुल विद्युतीय भुक्तानी कारोबार घटे पनि एटीएम, डविट कार्ड, क्रेडिट कार्ड, प्रिपेट कार्ड, पीओएस र ई–कर्मशमार्फत् हुने कारोबार भने बढेको छ ।
असोज महिनामा एटीएममार्फत् ४६ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएकोमा कात्तिक महिनामा ५५ अर्ब ४९ करोड रुपैयाँ, डविट कार्डमार्फत् असोज महिनामा ४९ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा कात्तिकमा ५८ अर्ब ४७ करोड रुपैयाँ र क्रेडिट कार्डमार्फत् असोजमा ७६ करोड रुपैयाँको कारोबार भएकोमा कात्तिकमा ८१ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
साथै असोज महिनामा प्रिपेड कार्डमार्फत् ५ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिकमा ६ करोड रुपैयाँ, पीओएसमार्फत् असोज महिनामा २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा कात्तिक माहिनामा ३ अर्ब ३ करोड रुपैयाँ र ई– कर्मशमार्फत् असोज महिनामा ७९ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा कात्तिक महिनामा ५२ करोड रुपैयाँको कारोबार भएकोे छ ।
SHARE YOUR THOUGHTS