काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
महासंघका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसँग महासंघको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि विशेष लक्ष्य सहितको भिजन पेपर तयार गर्न लागेको जानकारी गराए ।
भेटमा अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएको बताए ।
साना मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वतः चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए ।
उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए ।
लाखौ यूवाहरू बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको भन्दै महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट अध्यक्ष गोल्छाले जानकारी गराए ।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिए ।
भेटमा राष्ट्रपति भण्डारीले महासंघको वर्तमान यूवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् ।
‘हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं’ उनले भनिन्, ‘बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ । रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस ।’
चुलिदो व्यापार घाटाप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरिन । हर कुरामा हामी वाह्य देशसँग निर्भर रहनु पर्ने अवस्था रहेको भन्दै यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी रहेको उनको भनाइ छ ।
स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानी समेत आकर्षित हुने हुंदा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिइन् ।
SHARE YOUR THOUGHTS