काठमाडौं । कृषि विकास बैंकले ‘किसान एप र किसान क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । बैंकले आफ्नो ५४औं वार्षिकको अवसरमा सो एप र क्रेडिट कार्डको शुभारम्भ गरेको हो ।
सरकारको नीति तथा कृषि उत्पादन, बजार जोखिम कम गर्न मोबाइल एपमार्फत् बिउ विजन, खेती प्रविधि र बजार मूल्य सम्बन्धी सुचना र किसान ऋणीको सहज पहँुच पुर्याउन ‘किसान एप र किसान क्रेडिट कार्ड’ को सुरुवात गरिएको बैंकले बताएको छ ।
किसान एप र किसान क्रेडिट कार्ड’ को औपचारीक शुभारम्भ अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । सो अवसरमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा विश्वले गरेका चमत्कारहरुलाई नेपालले पछ्याइरहेको बताए ।
‘प्रविधिको क्षेत्रमा दुनियाँले नयाँ चमत्कार गरिरहेको छ, दुनियाँको प्रगतिलाई पछ्याउने हामी कोसिस गर्दै छौं,’ उनले भने, ‘कृषि क्षेत्रमा यो प्रविधिको प्रयोगले आम किसानहरुलाई प्रविधिमैत्री बन्नका लागि मद्दत पुग्नेछ ।’
उनले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न निर्देशन दिए ।
आम किसानहरुले कृषि उद्यमिको रुपमा स्थापित गर्न कृषि विकास बैंकबाट विषेश लाभ लिन सक्ने गरी बैंकको प्रविधि सशक्त र लाभकारी हुन सुझाव उनले दिएका छन् ।
कृषिमा लगानी गर्न स्रोत व्यवस्थापनका लागि बैंकको वार्षिक साधारणसभाबाटै ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’को समेत अर्थमन्त्रीले शुभारम्भ गरेका छन् ।
यसैगरी, सो अवसरका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवातले सरकार तथा राष्ट्र बैंकले लिएको डिजिटल भुक्तानीको नीतिलाई पूर्णता दिन सहयोग गर्ने बताए ।
‘नेपाल सरकार र राष्ट्र बैंकले लिएको महत्वपूर्ण नीति डिजिटल नेपाल फ्रेमवर्क हो र दशैभरी डिजिटलरुपमा कारोबार होस् भन्ने उद्देश्य राखिएको छ,’ उनले भने, ‘सबै नागरिकको पहुँचमा डिजिटल कारोबारको पहुँच पुगोस् भनेर हामीले धेरै प्राथमिकता दिइरहेका छौं ।’
सो नीतिमा कृषि विकास बैंकले किसान एप र किसान क्रेडिट कार्डको सुरुवात गरी काम पनि शुरु गरिसकेको हुँदा डिजिटल नेपाल फ्रेमवर्क अभियान सफल चाँडै हुने उनको विस्वास छ ।
उनले वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको जानकारी दिँदै हिँजोका दिनमाभन्दा कृषि विकास बैंक सवल र सक्षम भएपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा प्रतिस्पर्धामक नभएको गुनासो गरे ।
‘कृषि विकास बैंकको हिँजो र आज तुलना नगर्न मिल्ने गरी ग्रोथ भएको छ, त्यति हुँदाहुँदै पनि हामीले अन्य बैंकहरुसँग तुलना गर्ने हो,’ उनले थपे, ‘अन्य २६ वटा वाणिज्य बैंकमध्येमा कृषि विकास बैंक कहाँ छ भन्ने कुरा हामीले अध्ययन गर्ने हो ।’
निक्षेप संकलनको सन्दर्भमा कृषि विकास बैंक ११औं नम्बर, कर्जा लगानीमा ८औं र विदेशी मुद्रा कारोबारमा सबैभन्दा तल कृषि विकास बैंक रहेको उनले जानकारी दिए ।
‘समग्रमा २७ वटै बैंकहरुको तुलनामा कृषि विकास बैंक २६औं नम्बरमा छ, बैंक अझै प्रतिस्पर्धी हुनु पर्नेछ ।’ उनले थपे ।
बैंकले भविष्यमा गर्नु पर्ने कामहरु उल्लेख गर्दै त्यसमा बैंकले निरन्तर प्रयास गर्ने विश्वास उनले राखे ।
सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैंकले पाएको नेतृत्वदायी भुमिकामा सहकार्य गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको बताए । जसका लागि संघले कृषि विकास बैंककै संयोजकत्वमा अध्ययन कमिटी गठन गर्ने जानकारी दिए । जसले कृषि क्षेत्रमा लगानी गर्दा किसानलाई ब्याजदर तथा अन्य प्रकारका दरहरुमा सहुलियत दिन र कृषि प्रविधिको प्रोत्साहन तथा प्रयोग बढाउन थप काम गर्न सहयो गर्ने बताए ।
हालसम्म कृषि विकास बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल प्रवाहित कर्जामा २८ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा रहेको बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
बैंकको हालसम्म १ लाख ५२ हजार ऋणी रहेका छन् । जसमध्ये अधिकांश ५० लाख रुपैयाँ मुनि कर्जा लिने ग्राहक रहेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS