काठमाडौं । पछिल्लो एक सातामा बैंकहरुमा निक्षेप संकलन घट्दा कर्जा भने अर्बौ रुपैयाँले थप भएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले माघको दोस्रो सातामा ११ अर्ब रुपैयाँले थप कर्जा प्रवाह गरेका हुन् ।
सोही अवधिमा बैंकहरुको निक्षेप संकलन भने १० अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
माघको दोस्रो सातामा केही कम्पनीहरुको आइपीओ जारी भएर लगानीकर्ता त्यसमा लगानी गर्दा निक्षेप घटेको संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
‘यही साता २ वटा ठूला कम्पनीको धेरैले आइपीओको आवेदन दिएका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘निक्षेप घट्नुको अन्य कारण केही देखिँदैन आइपीओमा नै पैसा जाँदा निक्षेप घटेको हो ।’
कर्जा प्रवाह भने बैंकहरुको नियमित तबरले बढेको उनको भनाइ छ ।
नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांक अनुसार माघ २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन माघ ९ गतेसम्म आइपुग्दा १० अर्ब रुपैयाँले घटेर ३७ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, वाणिज्य बैंकहरुले माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन माघ ९ गतेसम्म ११ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकले देखाएको छ ।
SHARE YOUR THOUGHTS