काठमाडौं । प्रभु बैंकले ६ महिनामा अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले नाफा बढाएको छ ।
बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४३ करोड २९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुर्याएको हो ।
बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सो अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब २ करोड ३३ लाख रुपैयाँ छ ।
यसैगरि, गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन २५.८५ प्रतिशत र कर्जा लगानी तर्फ २६.८२ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकले ब्याज आम्दानीमा गत आवको ६ महिनाको तुलनामा ९.७२ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २३ करोड ८८ लाख रुपैयाँले ब्याज आम्दानी बढाएर २ अर्ब ६९ करोड ६० लाख रुपैयाँ पुर्याएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.०६ प्रतिशतले घटेकोे छ । गत आवको पुस मसान्तमा ३.१२ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिको यस्तो अनुपात २.०६ प्रतिशतमा सीमित भएको छ ।
साथै पुस मसान्तसम्म बैंकको आधारदर ७.२४ प्रतिशत, स्प्रेडदर ३.६४ प्रतिशत र सीसीडी रेसियो ६६.४३ प्रतिशत रहेको छ ।
सो अवधिमा बैंकको कष्ट अफ फण्ड ५.०१ प्रतिशत, प्रतिशसेयर आम्दानी २६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ २९ पैसा छ ।
SHARE YOUR THOUGHTS