बर्डफ्लु देखिएपछि भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध « Eglish Khabarhub

बर्डफ्लु देखिएपछि भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध



काठमाडौं । उपत्यकाका स्थानीय किसानले पालेको कुखुरा, हाँस, टर्की, बट्टाईमा बर्डफ्लु देखिएपछि भातबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

काठमाडौैं जिल्ला तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेको टर्की र हाँसमा बर्डफ्लु देखिएपछि भारतबाट आयात भएको वस्तुमा प्रतिबन्ध लगाएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल पिसिआर विधिबाट परीक्षण गर्दा गत १६ गते बर्ड फ्लु रोगको पुष्टि भएको कृषि तथा पुशपन्छी विकास मन्त्रालयको मातहतमा रहेको पशु सेवा विभागले जनाएको छ ।

विभागले गत १६ गते १८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइएको जनाएको छ । साथै, रोग देखापरेको क्षेत्रलाई पूर्ण नियन्त्रण समेत गरी शनिबार रोग पूर्णरुपमा नियन्त्रण गरिसकेको विभागको भनाइ छ ।

त्यससँगै देशमा रोग भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै रोग रोकथाम तथा नियन्त्रणमा सम्बद्ध सबै निकायलाई सतर्क अवस्थामा राखिएको विभागले जनाएको छ ।

विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न÷गराउन आग्रह गरेको छ ।

साथै, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अबलम्बन गर्न, सम्पूर्ण पन्छीपालन कृषकहरूले फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा विक्री स्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न आग्रह गरेको छ ।

Publish on: