काठमाडौं । सरकारले कतारमा रोजगारीका लागि जीटुजीमार्फत् कामदार लगे व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै कतार सरकारसँग जीटुजी सम्झौता गरिएमा संघले विरोध सशक्त कार्यक्रमहरू गर्ने चेतावनी दिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ पाठ्यक्रमअनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिम कार्यक्रममा मन्त्रीले जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी भएको जनाएसँगै संघले उक्त प्रेस विज्ञप्ति जारी गरेको संघका सचिव सुजित श्रेष्ठले जानकारी दिए ।
‘गत फागुन २३ गते मन्त्रीले कतार सरकारसँग सम्झौता गरी जीटुजी प्रक्रिया अन्तर्गत नेपाल सरकारले कामदार पठाउने भनी दिएको अभिव्यक्ति प्रति संघले यस विषयमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले आफ्नो श्रम र स्रोत लगानी गरी सम्पूर्ण पूर्वाधार तयार गरेपछि सरकारले व्यवसायलाई कब्जामा लिई व्यापार गर्ने प्रवृत्ति नेपालको संविधान र कानून विपरीत रहेको संघले जनाएको छ ।
साथै, लोकतान्त्रिक सरकारले सुविधाजनक भई व्यवसायलाई व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा व्यापारी हुने प्रवृत्ति खेदजनक रहेको संघको भनाइ छ ।
त्यस्तै, सरकारले कोरिया, इजरायल पठाउँदा लाखौं रुपैयाँ लिने तर व्यवसायीलाई शुन्य लागतमा पठाउनुपर्छ भन्ने र व्यवसायीले गरेको करोडौंको लगानीबाट आफूले नाफा लिने प्रवृत्तिको विरोध जनाएको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, यस विषयमा मन्त्रालयका सचिवसँग छलफल रहेको सचिव श्रेष्ठले बताए ।
‘नीजि व्यवसायले धरौटी राखेर व्यवसाय गर्दै आएको छ । तर, सम्पूर्ण रोजगारीको काम नेपाल सरकारले गर्न खोज्यो भने हामी व्यवसायीको औचित्य के ? र, यदिसरकारले नै सबै काम गर्ने हो भने सबै व्यवसाय बन्द गरे हुन्छ,’ श्रेष्ठले भने ।
साथै, संघलाई थाहा भएअनुसार केही निश्चित स्वार्थ व्यक्तिहरूले कतार पठाउनको लागि केही म्यानपावर छनौट गर्ने र त्यसलाई सिण्डिकेट गर्ने जस्ता प्रवृत्तिको पनि चलखेल भइरहेको अवस्था छ । त्यस्ता व्यक्तिलाई पनि निरुत्साहित गर्न संघले प्रेस विज्ञप्ति जारी गरेको श्रेष्ठले बताए ।
SHARE YOUR THOUGHTS