काठमाडौं । सरकारले एक वर्षअघि आयातमा बन्देज लगाउँदै आएको केराउ, सुपारी, छोकडा र नधुलाएको मरिचमा आयातको लागि खुल्ला गरेको छ । सरकारले उक्त वस्तुको आयात गर्न पाउने फकुवा गरेपछि स्वीकृत गरेको कोटाभन्दा १८ गुणासम्म बढी माग परेको छ ।
सरकारले निकासी पैठरी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठरीमा बन्देज लगाएको थियो ।
साथै, सरकारले नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाका (उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी केराउ, सुपारी, छोकडा र मरिचको बन्देज हटाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ९ गते मा राजपत्रमा सूचना प्रकाशन गरेर बन्देज हटाइएको हो । सोही अनुसार मन्त्रालयको मातहतमा रहेको वाणिज्य, आपूर्ति तथा संरक्षण विभागमा हालसम्म आएको आवेदन आयात गर्न कोटाभन्दा १८ गुणा बढी माग आएको विभागले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि केराउ आयातका लागि ८० हजार मेट्रिक टन कोटा तोकेको छ ।
तर, विभागमा केराउ आयातको लागि ३ सय ४ निवेदन परेको छ । उक्त निवेदन दिएका व्यक्तिहरूबाट १४ लाख ७१ हजार ३३ मेट्रिक टन आयात गर्ने निवेदन परेको विभागले जनाएको छ । उक्त परिमाण सरकारले माग गरेभन्दा १८ गुणा बढी हो ।
सरकारले सुपारीको लागि २५ हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सक्नेछन् । विभागमा आएको निवेदन अनुसार उक्त वस्तु आयात गर्नको लागि २ सय ५० जना आयातकर्ताले ४ लाख ७८ हजार ८ सय ४६ मेट्रिक टन आयात गर्न निवेदन दिएका छन् । जुन सरकारले तोकेको परिमाणभन्दा १९ गुणा बढी हो ।
त्यस्तै, छोकडाको पैठरीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिको लागि ५ हजार मेट्रिक टन परिमाण आयात गर्न सक्ने जनाएको छ ।
विभागमा भने छोकडा आयात गर्नको लागि १ सय २४ जना आयातकर्ताले निवेदन दिएका छन् । साथै, उक्त निवेदकले ६० हजार ८ सय ४ मेट्रिक टन आयात गर्न माग गरेका छन् । छोकडामा भने १२ गुणा बढी आयातकर्ताको माग रहेको छ ।
त्यसैगरी, सरकारले नधुल्याएको मरिचको लागि सरकारले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिक टन कोटा तोकेको थियो । उक्त वस्तु आयात गर्नको लागि २ सय ६ जना आयातकर्ताले १ लाख ६६ हजार ३ सय ३ मेट्रिक टन आयात गर्न निवेदन परेको विभागले जनाएको छ । जसमा सरकारले तोकेको कोटाभन्दा ११ प्रतिशत रहेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बन्देज गरिएको उक्त वस्तु तथा सेवामा मन्त्रिपरिषद् बैठकले औद्योगिक उत्पादन र घरायसी प्रयोजनका लागि आवश्यक मात्रै आयातको निर्णय गरेसँगै उक्त वस्तु तथा सेवाको आयातको लागि निवेदन खुल्ला गरेको थियो ।
सोही अनुसार निवेदन दिनको लर्को रहेको विभागका प्रवक्ता शिवराज सेडाईंले जानकारी दिए । उनका अनुसार हालसम्म पनि निवेदनका लागि भने अझै खुल्ला रहेको बताए ।
‘हालसम्म विभागले निवेदन दिनको लागि बन्द गरेको छैन । आयात गर्न इच्छुक व्यापारीहरूले आयात गर्नको लागि निवेदन दिन सक्नेछन्,’ उनले भने, ‘विभागका प्राप्त निवेदन अनुसार विभागले अध्ययन गरेर एक, दुई दिनमा इजाजत दिन थाल्छौं ।’
विभागले निवेदनको लागि कनै दस्तुर नलिए पनि इजाजत दस्तुरका लागि भने १ हजारभन्दा कम मूल्य रहेको उनको भनाइ छ । जसमा वस्तुअनुसार विभागले तोक्ने उनले बताए ।
आयातकर्ताहरूले उक्त वस्तु आयातका लागि विभागले तोकेको कागजात र मापदण्ड पुर्याएको व्यवसायीले मात्र आयात गर्न पाउनेछन् ।
‘विभागले चालु आर्थिक वर्षमा जसले भन्सार कटाइसक्छ । त्यस व्यवसायीले इजाजत पाउनेछ,’ उनले क्लिकमान्डूसँग भने ।
प्रवक्ता सेडाईंका अनुसार विभागले कोटा तोकेर बाँडिसके पघि मात्रै निवेदनका लागि स्वतः बन्द हुने बताए ।
आयात बन्दजले केराउमा मात्रै प्रभाव
सरकारले गत वर्ष केराउ, सुपारी, छोकडा र मरिचको आयातमा बन्देज गराएपनि बजारमा भने केराउको मूल्यमा मात्रै प्रभाव परेको देखिन्छ ।
गत वर्ष केराउको मूल्य प्रतिकेजी १०० देखि ११० रुपैयाँ रहेकोमा अहिले अभाव भएकै कारण बढेर १४० देखि १५० पुगेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
उनका अनुसार बजारमा केराउको मूल्य वृद्धि हुनुमा आयात बन्देज पनि एउटा कारण रहेको बताए । तर, हालै सरकारले आयात खुल्ला गरेको यसले बजारमा आयात बढी हुन गई मुल्य कम हुने उनको भनाइ छ ।
तर, छोकडामा भने बजारमा अभाव नहुनुका साथै मूल्यमा खासै असर नपरेको उनले दाबी गरे ।
‘गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तिहारमा छोकडाको मूल्य अझ कम पर्न गएको थियो,’ उनले भने ।
साथै, छोकडाको मूल्य प्रतिकेजी १८० रुपैयाँभन्दा माथिमा बिक्री नभएको उनले जिकिर गरे ।
त्यसैगरी, सुपारी र मरिचको पनि खासै अभव नदेखिएको उनको भनाइ । साथै, मूल्यमा पनि खासै फरक छैन । बजारमा सुपारी र मरिचको प्रकारका अनुसार मूल्य तय हुने गर्दछ ।
‘आयात गरेको मरिच सम्पूर्ण नेपालमै खपत हुँदैन,’ उनले भने, ‘तेस्रो मुलुकबाट आयात गरेर माग अनुसार भारततर्फ निर्यात हुने गर्दछ । त्यसैले मूल्यमा तलमाथि हुने हो ।’
तर, बजारमा खपत बढी भएर अर्थात अभाव भएर मूल्यमा वृद्धि भने नहुने उनको भनाइ छ । जसमा मरिच अधिकांश मरिच श्रीलंका र इन्डोनेसियाबाट आउने उनले बताए ।
साथै, आयात भएको मरिच र सुपारीको गुणस्तरमा फरक भएकाले आयात बन्देज भएकाले बजारमा खासै प्रभाव नपरेको उनको बुझाइ छ ।
SHARE YOUR THOUGHTS