
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको हो ।
सो निर्देशन अनुसार राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान एनएफआएसअनुसार समेत समानान्तररुपमा तयार गर्नु पर्नेछ ।
यसैगरी, लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने छन् ।
एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा भने यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
अर्थात् लघुवित्त वित्तीय संस्थाले एक वर्षभन्दा कम समयावधिको लागि कर्जा प्रवाह गर्दा १.४ प्रतिशत सेवा शुल्कलाई ४ भाग गरेर चौमासिक रुपमा ०.३७ प्रतिशतमात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।