काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चौथो डोजले सेयर बजारलाई घटाउन सफल भएको देखिएको छ ।
कोरोना भाइरसको कारण अर्थतन्त्र शिथिल भएपनि सेयर बजार भने निकै उकालो लागेको थियो ।
राष्ट्र बैंकले नेप्से परिसूचक २ हजारभन्दा माथि लाग्न थालेपछि विभिन्न उपकरण जारी गरेको थियो । यद्यपी बजारमा बढेका नयाँ लगानीकर्ता र ठूलो चुक्ता पूँजी भएका कम्पनीहरु सूचिकृत भएको कारण नेप्से परिसूचक उकालो लागेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो राखेर प्रवाह हुने कर्जामा कडाई गर्यो । राष्ट्र बैंकले एउटा व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था लागु गर्यो ।
राष्ट्र बैंकले मौद्रिक नीति साउन २९ मा ल्याएको थियो । भदौ २९ मा शुक्रबार थियो । मौद्रिक नीति आउनु अगाडि ३१७८.९१ बिन्दुमा रहेको नेप्से परिसूचक मौद्रिक आएपछि खुलेको साउन ३१ मा ३१५४ अंकमा घट्यो । तर,बढ्ने क्रममा रहेको सेयर बजारले भदौ २ गते ३१९९को सर्वाधिक बिन्दु छोयो ।
राष्ट्र बैंकले बढ्दो सेयर बजारलाई लगाम कस्नको लागि बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सेयर किनेको एकवर्षसम्म बेच्न नपाउने,औसतमा १२० दिनमा दिने गरेको मार्जिन लेन्डिङ कर्जालाई १८० मा पुरयाउने तथा सेयर धितो कुन राख्दा पाइने कुन राख्दा नपाइने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो राखेर कर्जा लिन नपाइने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकको नीतिले सेयर धितो राखेर सेयरमा लगानी गरेका लगानीकर्तालाई प्रभाव पर्यो । अर्को साउन र भदौ महिनामा भएको उच्च आयातले बैंकिङ प्रणालीमा भएको लगानी योग्य रकम तरलता घट्दै गयो । साउन महिनामा मात्र बैंकहरुमा ८० अर्ब रुपैयाँ निक्षेप घटेको थियो । भदौ महिनासम्म ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको छ । साउन महिनामा शोधानान्तर ३८ अर्ब रुपैयाँले घाटामा गयो भने रेमिटेन्स समेत घट्यो । जसले बैंकिङ प्रणालीमा तरलता घट्दै गयो ।
उच्च बिन्दुमा पुगेको सेयर बजार ४० दिनमा नै करिब ६ सय अंकले घट्यो । बजार पूँजीकरणको हिसाबले हेर्दा लगानीकर्ताले करिब ८ खर्बले सम्पत्ति गुमाए । नेप्से परिसूचक उच्च भएको भदौ २ गते बजार पूँजीकरण ४४ खर्ब ४८ अर्ब थियो । मंगलबार कारोबार बन्द हुँदा ३६ खर्ब ६१ अर्बमा झरेको छ ।
SHARE YOUR THOUGHTS