![](https://internal.appharu.com/wp-content/uploads/2021/11/VAT-768x461.jpg)
काठमाडौं । अब डिजिटल भुक्तानी गर्ने उपभोक्ताले आफूले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत फिर्ता पाउने भएका छन् ।
डिजिटल भुक्तानीमा काम गरिरहेको फिनटेक कम्पनी नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले उक्त सुविधा प्राप्त गर्न सकिने नयाँ प्रविधि ‘भिजा डाइरेक्ट’ ल्याउने भएको छ ।
नेप्सको सदस्य रहेका बैंकको कार्ड प्रयोग गर्ने उपभोक्ताले यही डिसेम्बर महिनाभरीमा उक्त सुविधा प्रयोग गर्न पाउने नेप्सका कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बाले बताए ।
‘हामीले डिसेम्बरमा भिजा डाइरेक्ट भन्ने नयाँ सेवा ल्याउँदै छौं,’ सुब्बाले भने, ‘यो भनेको ग्राहकले तिरेको करको १० प्रतिशत फिर्ता पाउने सुविधा हो ।’
नेपाल सरकारले दुई वर्षअघि विद्युतीय कारोबारमा लाग्ने भ्याटको १० प्रतिशत उपभोक्तालाई फिर्ता दिने नीति बनाएको थियो । सरकारले दुई वर्षदेखि बजेटमार्फत् यो सुविधा उपलब्ध भएको घोषणा गरे पनि प्रविधिको अभावमा कार्यान्वयन हुन सकेको थिएन ।
अब भने नेप्सले उक्त नीति कार्यान्वयनका लागि भिजा डाइरेक्ट भन्ने सेवा ल्याएको सुब्बाले बताए ।
ग्राहकले १० प्रतिशत भ्याट फिर्ता पाउँछन् भन्नुको अर्थ हो कसैले दश हजारको सामान किनेको छ भने उसले १३ प्रतिशत भ्याट तिर्नुपर्छ । दश हजारको १३ प्रतिशत भनेको १ हजार ३ सय हो ।
यदि उसले कुनै पनि डिजिटल भुक्तानीमार्फत पैसा तिरेको छ भने १ हजार ३ सयको १० प्रतिशत अर्थात १३० रुपैयाँ उसको फिर्ता पाउँछ ।
सरकारले दिएको यो सुविधा प्रविधिको अभावले कार्यान्वयन हुन सकेको थिएन । अब नेप्सले उक्त सुविधा डिसेम्बर क्रिसमसको अवसरमा उपभोक्तामाझ ल्याउने सुब्बाले बताए ।
SHARE YOUR THOUGHTS