कांग्रेसमा सभापति र महामन्त्री पदको लागि ६ जनाको उम्मेद्वारी « Eglish Khabarhub

कांग्रेसमा सभापति र महामन्त्री पदको लागि ६ जनाको उम्मेद्वारी



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार सभापति पदमा प्रधानमन्त्री तथा अहिलेको कार्यसमितिका सभापति शेरबहादुर देउवा,अहिलेको कार्यसमितिका उपसभापति बिमलेन्द्र निधिले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै डा शेखर कोइराला तथा प्रकाशमान सिंहले पनि उम्मेद्वारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपानले पनि सभापति पदमा उम्मेद्वारी दिएका छन् ।

सभापतिमा उम्मेद्वारी दिएका देउवा र कोइरालाले पदाधिकारीमा प्यानल सहित उम्मेद्वारी दिएका छन् । सिंहले पदाधिकारीमा सबै प्यानलको उम्मेद्वारी दर्ता गराएका छैनन् । निधिले प्यानल बिना नै उम्मेद्वारी दर्ता गराएका हुन् ।

२ जना निर्वाचित हुने महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । जसमा देउवाको टिममबाट २ जना र कोइरालाको टिमबाट २ जना र सिंहको टिमबाट १ जना छन् ।

२ जना निर्वाचित हुने उपसभापतिको लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ । देउवा र कोइरालाले उपसभापतिमा २ जना नै उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै सिंहको प्यानलबाट एकजनाको उम्मेद्वारी उपसभापतिमा परेको छ ।

देउवा प्यानलबाट उपसभापतिमा विजय गच्छादार र पूर्णबहादुर खड्काले उम्मेद्वारी दिएका छन् । कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेद्वारी दिएका छन् । सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेद्वारी दिएका छन् । यस्तै महेश आचार्य र महेश्वरी शाहले पनि उपसभापति पदमा उम्मेद्वारी दर्ता गरेकी छन् ।

महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । २ जना चुनिने महामन्त्रीमा देउवा प्यानलबाट डा देउवाको टिमबाट डा प्रकाशशरण महत र प्रदिप पौडेल महामन्त्रीका उम्मेद्वार हुन् । यस्तै कोइरालाको प्यानलबाट गगन थापा र डा मिनेन्द्र रिजाल उम्मेद्वार छन् । सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेद्वारी दिएका छन् । डा राजाराम कार्कीले पनि महामन्त्रीमा उम्मेद्वारी दिएका छन् ।

सहमहामन्त्रीमा देउवा प्यानलबाट महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस÷आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा छन्।

सहमहामन्त्रीमा कोइराला प्यानलबाट खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको छन् ।

कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि आइतबार मतदान हुने छ । सभापतिमा २ भन्दा बढी उम्मेद्वार रहेको हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत सभापतिको उम्मेद्वारले ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन गर्नुपर्छ ।

निर्वाचन समितिले सभापति पदको मत गनेपछि मात्र अरु पदका उम्मेद्वारको मत गन्ने छ । आइतबार हुने निर्वाचनबाट सभापति पदको टुंगो नलागेमा दोस्रो चरणमा जाने छ । यसको लागि सोमबार निर्वाचन हुने छ । बढी भोट ल्याउने पहिलो र दोस्रो उम्मेद्वारबीच दोस्रो चरणमा मतदान हुने छ ।

Publish on: