पूर्वाधार विकास बैंकले प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेञ्चर जारी गर्न सक्ने « Eglish Khabarhub

पूर्वाधार विकास बैंकले प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेञ्चर जारी गर्न सक्ने



काठमाडौं । पूर्वधार विकास बैंकले प्राथमिक पुँजीको शत प्रतिशतसम्म डिबेञ्चर तथा अन्य उपकरणहरु जारी गर्न सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गरेको व्यवस्थामा उक्त कुरा उल्लेख छ । पूर्वाधार विकास बैंकले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर-अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ ।

त्यस्तो निवेदन माथि आवश्यक छानबिन गरी उपयुक्त ठानेमा केन्द्रीय बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिन सक्ने व्यवस्था गरेको छ ।

डिबेञ्चर-अन्य ऋण उपकरण जारी गर्ने पूर्वाधार विकास बैंकले निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष वाहेकका प्रत्येक वर्ष वार्षिक मुनाफाबाट समानुपातिक आधारमा रकम भुक्तानी कोष अनिवार्य रुपमा राख्नु पर्नेछ ।

केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुरा गर्ने प्रयोजन बाहेकको अवस्थामा संस्थाले कुनै आर्थिक वर्षमा ५ पूर्ण आर्थिक वर्ष भन्दा बढी भुक्तानी अवधि बाँकी रहेको ऋणपत्र वापत भुक्तानी कोषमा जम्मा गर्नु पर्ने रकम बराबर बोनस सेयर जारी गरेमा सो आर्थिक वर्षमा भुक्तानी कोषमा रकम जम्मा गर्न अनिवार्य हुने छैन ।

उक्त वर्षमा जम्मा गर्नु पर्ने रकम उक्त वर्ष पश्चातका आर्थिक वर्षहरुमा थप गरी समानुपातिक आधारमा अनिवार्य रुपमा उक्त कोषमा जम्मा गर्नु पर्ने छ । पूर्वाधार विकास बैंकले स्रोत परिचालनमा गणना हुने गरी ऋणपत्र जारी गरेमा भुक्तानी कोषमा रकम जम्मा गर्न अनिवार्य हुने छैन ।

पूर्वाधार विकास बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्नेछ । यसअघि जारी गरिएका वा यस बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनु पर्नेछ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न पाइने छैन ।

पूर्वाधार विकास बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिई उर्जा ऋणपत्र जारी गर्न सक्नेछन् । उर्जा ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको उर्जा परियोजनाको विवरण अध्यावधिक गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Publish on: