कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल « Eglish Khabarhub

कुमारी बैंकलाई ‘टप १२’ भन्दा पछि पर्न नदिने सीइओ खनालको रणनीति, अब दोहोरो अंकको प्रतिफल



काठमाडौं । गत साउनदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा कुमारी बैंकको सञ्चालक समितिले गतसाता मात्रै रामचन्द्र खनाललाई नियुक्त गर्यो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल वाणिज्य बैंकका बहालवाला सीइओहरुमध्ये उमेरका हिसाबले सबैभन्दा कान्छा हुन् ।

सन् २००३ मा बीबीएस अध्ययन पूरा पछि ३ वर्ष अडिट फर्ममा काम गरेका खनालले २००७ मा दिल्लीबाट चार्टर्ड एकाउन्टेन्सी पूरा गरेका हुन् । र, २००८ मा प्राइम लाइफ इन्स्योरेन्सबाट करिअर शुरुवात गरेका उनी ५ वर्षदेखि कुमारी बैंकमा आवद्ध छन् ।

युवा बैंकर सीइओमा नियुक्ति भएसँगै अब कुमारी बैंक कसरी अघि बढ्ला ? कुमारीलाई खरो प्रतिस्पर्धामा उतार्न खनालले के कस्ता रणनीति अबलम्बन गर्लान् ? बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्नेहरुको अहिलेको चासो हो यो ।

हामीले यही आम चासोलाई सम्बोधन गर्ने उदेश्यले सीइओ खनाललाई यस्तै केही प्रश्न सोधेका थियौं । बैंकका विभिन्न सूचकांकहरुलाई टप १२ मा राख्दै आगामी वर्षहरुमा सेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिने उदेश्यका साथ आफूले काम गर्ने खनाल बताउँछन् ।

‘अहिले पनि कुमारी बैंक धेरै सूचकमा टप १० देखि १२ मा छ,’ खनालले क्लिकमाण्डूसँग भने, ‘यसलाई कायम राख्दै बैंकको रेपुटेशन अझ बलियो बनाएर अघि बढ्ने मेरो योजना छ ।’

नियामक नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालमा १५ वटा बैंक भए पुग्ने उल्लेख छ । बैंकको संख्या घटाउनका लागि राष्ट्र बैंकले मर्जरको नीति अबलम्बन गरेको छ । धेरैलाई लागेको अर्को चासो के हो भने कुमारी बैंक आफ्नो नाम जोगाएर अघि बढ्न सक्ला कि नसक्ला ?

तर, सीइओ खनाल भने अब कुमारी बैंक आफ्नो नाम जोगाएर अघिबढ्न सक्षम रहेको बताउँछन् ।

सीइओ खनाल

‘राष्ट्र बैंकले १५ वटा बैंक आवश्यक छ भनेको अवस्थामा कुमारीलाई १५ वटाभित्र पर्ने गरी सूचंकाकहरु बलियो बनाउने हो,’ उनले भने, ‘अहिले हामी १५ भित्र पर्छौं । यसलाई मात्रै कायम राख्ने हो भने कुमारी बैंक नाम गुमाएर मर्जरमा जानुपर्दैन । अरु बैंकलाई मर्जर वा प्राप्ति गरेर अघिबढ्न सक्छ ।’

त्यसैले अहिलेको आफ्नो रणनीति भनेको बैंकका सूचकहरुलाई बलियो बनाउनु भएको उनले सुनाए ।

सूचकहरुलाई बलियो बनाउँदै गएपछि बैंकको ब्राण्डिङ पनि स्वतः मजबुत बन्दै जाने उनको भनाइ छ ।

‘बलिया सूचकहरुले नै बैंकको रेपुटेशन मजबुत बनाउँछ,’ उनले भने ।

पूरानै बैंक भएपनि पछिल्ला वर्षहरुमा कुमारी बैंकले लगानीकर्तालाई सन्तोषजनक प्रतिफल दिन सकिरहेको छैन । त्यसैले सीइओ खनालले आगामी वर्षहरुमा लगानीकर्तालाई दोहोरो अंकको (१० प्रतिशत माथि) प्रतिफल दिने रणनीतिका साथ काम गरिरहेको बताउँछन् । राम्रो प्रतिफल दिनका लागि नाफा पनि राम्रै गर्नुपर्ने हुन्छ । कर्मचारीले राम्रोसँग काम गरे भने मात्रै बैंकले राम्रो नाफा कमाउँछ ।

‘व्यवस्थापन प्रमुखका हिसाबले मैले कर्मचारीलाई काम गर्ने राम्रो वातावरण बनाइदिने हो,’ उनले भने, ‘कर्मचारीको वर्किङ कल्चर र उत्पादकत्व बलियो बनाउँदै लैजाने हो ।’

कर्मचारीलाई खुसी बनाउन सकियो भने उत्पादकत्व बढ्ने उनको भनाइ छ ।

त्यसबाहेक, निक्षेपकर्तालाई राम्रो रेट र उच्चतम सेवा दिनु, नियामकका नीति निर्देशनको अक्षरश पालना गर्दै बैंकलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

खनालसँग वित्तीय क्षेत्रमा डेढ दशक काम गरेको अनुभव छ । छोटो करियर र युवा उमेरमै वाणिज्य बैंकको सीइओ बन्ने भाग्यमानी बैंकर हुन् उनी ।

‘मसँग बैंकिङ क्षेत्रमा दशकौं काम गरेको अनुभव नहुँदा पनि बैंक सञ्चालक समितिले विश्वास गरेर व्यवस्थापनको जिम्मा दिएको छ, उक्त विश्वास गुम्न नदिनु र काम गरेर आफूलाई प्रमाणित गर्नुपर्ने चुनौति मेरासामू छ,’ खनाल भन्छन् ।

अहिले बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता)को ठूलो समस्या छ । अधिकांश बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेभन्दा बढी छ ।

‘तेस्रो त्रैमासमा सीडी रेसियो ९१.७७ प्रतिशत पुगिसकेको छ, यसलाई चौथो त्रैमासमा ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने छ,’ खनालले भने, ‘निक्षेप बढाउनु पर्नेछ भने कर्जा प्रवाहका हकमा पनि संयमता देखाउन जरुरी छ ।’

पहिल्यै कमिटमेन्ट गरिसकेका र डिस्भर्समेन्टको प्रोसेसमा रहेका उत्पादनमूलक क्षेत्रमाबाहेक कर्जा प्रबाह रोकेको उनले जानकारी दिए ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनपछि र जेठ १५ गतेको बजेटपछि तरलता केही सहज हुने विश्वास गरिएको छ । त्यसपछि मात्रै कर्जा प्रवाह गर्न सकिने उनको भनाइ छ ।

‘रेमिट्यान्स बढेन र अहिलेको जस्तै अवस्था भयो भने तरलताको अभाव हुँदैन, आयातमा गरिएको प्रतिबन्धका कारण तरलतामा सहज भयो भने कर्जा दिन सकिन्छ,’ उनले भने, ‘होइन भने निक्षेप संकलनमात्रै गर्ने कर्जा प्रवाह नगर्ने नीति छाड्न सकिँदैन ।’

त्यसैले अहिले बैंकले आफ्नो प्राथमिकता निश्चित गरेर अघि बढिरहेको उनले बताए ।

Publish on: