मार्जिन कारोबार कार्यविधि संशोधन बिना कार्यान्वयन गर्न नसकिने निष्कर्ष, ब्रोकर संघले दियो थप सुझाव « Eglish Khabarhub

मार्जिन कारोबार कार्यविधि संशोधन बिना कार्यान्वयन गर्न नसकिने निष्कर्ष, ब्रोकर संघले दियो थप सुझाव



काठमाडौं । स्टक ब्रोकर संघले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि अहिलेकै अवस्थामा कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । जसका लागि संघले कार्यविधि संशोधनको माग गर्दै नेप्सेमा सुझाव समेत पठाइसकेको छ ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन गरेर कार्यान्वयनमा आए लगत्तै संघले पुनः संशोधन गर्न थप सुझाव दिएको हो ।

संघका अध्यक्ष सन्तोष मैनालीले माग अनुसार संशोधन नभए कार्यान्वयन गर्न नसकिने भन्दै वैशाख ११ गते नै नेप्सेमा सुझाव पठाइएको बताए ।

संघले कार्यविधि संशोधनका लागि दिएको सुझावमा ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग ऋण लिइ लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । साथै, संघले ब्रोकरहरुले खुद सम्पत्तिको २ गुणासम्मको मार्जिन कारोबारको सुविधालाई १० गुणासम्म बढाउनुपर्ने माग गरेका छन् ।

साथै, मार्जिन कारोबार अन्तर्गत खरिद भएका धितोपत्रहरु राफसाफ भएपछि मार्जिन कारोबार पुल खातामा राख्नुपर्ने र पुल खातामा रहेको धितोपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्नपर्ने संघको माग छ । संघले धितोपत्रको मूल्यांकन बढीमा ७० प्रतिशतसम्म कायम गर्नुपर्ने माग गरेको छ ।

‘कार्यविधिमा स्रोतको व्यवस्थापन गर्ने विषय प्रष्ट छैन,’ अध्यक्ष मैनालीले भने ‘ब्रोकर कम्पनीले दैनिक राफसाफमा प्रयोग गरेर बाँकी रहेको इक्विटी प्रयोग र्दा पनि पर्याप्त नहुने भएकाले बजारको मागलाई सम्बोधन हुनेगरी कार्यविधि संशोधन भएर आएन ।’

सेयर धितो राखेर खरिद गरेको सेयर सुरक्षणका लागि ब्रोकरको अधिनमा हुने व्यवस्था गर्न समेत संघको माग छ । संघले उक्त सेयरलाई बैंकमा धितो राख्न पाउनु पर्ने समेत माग गरेको छ ।

‘सेयर धितोको जति भ्यालुएसन हुन्छ त्यसको ७० प्रतिशत कर्जा दिने हो, ७० मध्ये ५० प्रतिशत बैंक र बाँकी २० प्रतिशत ब्रोकरले हाल्छन,’ उनले भने, ‘बाँकी ३० प्रतिशत लगानीकर्ताको हुन्छ ।’

उनले यस्तो व्यवस्था भए इक्विटीको ६/७ गुणासम्म रकम लगानी गर्न सकिने बताए ।

‘कार्यविधिमै लगानीकर्ताले मार्जिन लोन लिने हो भने छुट्टै मार्जिन खाता खोल्नु पर्ने,’ उनले भने, ‘तर अहिले टीएमएसमा छुट्टाछुट्टै खाता खोल्न सम्भव छैन ।’

तत्कालका लागि छुट्टाछुट्टै खाता खोल्न अहिले सम्भव नभएको मौनालीको भनाइ छ ।

यसका लागि शुरुमा म्यानुअली कारोबार गर्दै अघि बढ्ने र समयक्रमसँगै नेप्सेले कार्यविधि संशोधन गर्ने र प्रविधिको विकास गर्दै कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ । प्रविधिको विकास नगरी एकै पटक धेरै लगानीकर्ता समक्ष पुग्न नसकिने मैनालीको तर्क छ ।

‘म्यानुअली गर्दा २/४ जनामा सकिएला तर धेरै जनामा एकै साथ जाने हो भने समस्या हुन सक्छ,’ उनले भने ।

Publish on: