ओलीलाई मन्त्री बडुले चुनौती दिएपछि एमाले नेताहरु आक्रोशित « Eglish Khabarhub

ओलीलाई मन्त्री बडुले चुनौती दिएपछि एमाले नेताहरु आक्रोशित



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएपछि संसद अवरुद्ध भएको छ ।

उद्योगमन्त्री दिलेन्द्र बडुले ओलीले बिहीबार गरेका टिप्पणीहरु आधारहिन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण भएको भन्दै त्यस्तो टिप्पणी स्तरहिन र खेदजनक भएको बताएका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै २ घण्टा ५४ मिनेट लामो भाषणामा ओलीले प्रयोग गरेका आरोप प्रमाणित गर्न समेत मन्त्री बडुले चुनौती दिए ।

‘सदनको रोष्टम प्रयोग गरेर जनतालाई यति हल्का आधारहिन झुठ्ठा सन्देशलाई प्रमाणित गर्न म प्रतिपक्ष दलका नेतालाई चुनौती दिन्छु,’ बडुले भने, ‘आफू प्रधानमन्त्री हुँदा कमिसन नै कमिसनमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन परेको अवस्थामा कमिसन बाहेक अरु के नै देख्न सक्छ ।’

मन्त्री बडुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको अभिवक्तिले दलको नेताको गरिमामा कति क्षति पुर्याएको छ त्यो पनि हेर्न सुझाव दिए । उनले सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न समेत सुझाव दिए ।

‘जनताको हितमा गरिने हरेक सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा र अभिव्यक्ति सुन्दा साउनमा दृष्ट गुमाएको गोरुले सधै हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउन चाहन्छु,’ उनले भने ।

मन्त्री बडुको उक्त भनाइ लगत्तै नियम आपत्ति जनाउँदै एमाले नेता खगराज अधिकारीले मन्त्रीले समेत गाली गलौचको शब्द प्रयोग गर्न नहुने भन्दै उक्त अभिव्यक्ति हटाउन समेत माग गरेका थिए ।

‘हिजोको र आजको अभिव्यक्ति रेकर्ड खोलेर हेरियोस मन्त्रीहरुलाई पनि जथाभावी बोल्न छुट छैन,’ उनले भने, ‘यस विषययमा संसदीय समितिले छानबिन गरोस् ।’

त्यसैगरी एमाले सचेतक सचेतक विशाल भट्टराईले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

Publish on: