![](https://internal.appharu.com/wp-content/uploads/2022/06/bishal-768x491.png)
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट ७०० वटा शीर्षकको करका दरमा हेरफेर गरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिस्कार गरेको छ ।
बजेट निर्माणको अन्तिम चरणमा मन्त्री शर्माले बाहिरका व्यक्ति ल्याएर करका दरका हेरफेर गरेको भन्दै प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दलले उक्त घटनाका विषयमा संसदीय समिति बनाएर छानबिन गर्न, १४ गते साँझ ७ देखि १५ गते बिहान ८ बजेसम्मको मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग समेत गरेको छ ।
के भएको थियो ?
अर्थमन्त्री शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिए । जवाफ दिएपछि एमाले सचेतक सांसद विशाल भट्टराईले बोल्न थाले ।
‘हामीले लगातार तीन दिनदेखि अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा र बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रति असाध्यै ठूलो गद्दारीको विरुद्धमा यहाँ बोलिरहेका छौं…..’
भट्टराईले उक्त भनाइ सक्न नपाउँदै सभामुख सापकोटाले भट्टराईलाई रोकेर आक्रोशित शैलीमा भने, ‘उक्त शब्द संसदीय मर्यादा विपरीत छ त्यसकारण त्यो शब्दलाई मैले रेकर्डबाट हटाएको छु ।’
लगत्तै प्रतिपक्षी दलका सासदहरुले उठेर विरोध गरे । विरोधबीच भट्टराईले भने, ‘यो शब्द यो देशप्रति गरेको गद्दारी हाे, कुनै हालतमा पनि संसदीय हुँदैन । किनभने यो मुलुकको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरु अर्थ मन्त्रालयभित्र मध्यराति पसेर ७०० वटा शीर्षकका करका दरहरु परिवर्तन गर्ने कुरा राष्ट्रघात हुन्छ कि मैले प्रयोग गरेको शब्द राष्ट्रघात हुन्छ ? भन्दै प्रश्न गरे ।
यो विषयमा संसदीय समिति बनाएर छानबिन गरौभन्दा पनि समिति नबनेको भट्टराईले बताए । मन्त्रीको नैतिकता खोजेर राजीनामा माग गरेको तर नआएको, १४ गते रातिको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गर्दा पनि त्यो माग पूरा नभएको दाबी गरे ।
प्रतिपक्षीको माग पूरा नगरेको र जबरजस्ती रुपमा मन्त्रीलाई बोल्न दिएर सभामुखले पनि संसदीय मर्यादालाई सम्मान नगरेको भन्दै उनले चिन्ता व्यक्त गरे । लगत्तै प्रतिपक्षी दलका सांसदहरुले बैठक बहिस्कार गरेर बाहिरिए ।
SHARE YOUR THOUGHTS