![](https://internal.appharu.com/wp-content/uploads/2022/09/mitranagar-dozar-768x465.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा बनेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । बुधबार महानगरको टोलीले उक्त क्षेत्रमा डोजर चलाएको हो । अनधिकृत संरचना हटाउन पटक-पटक अनुरोध गरे पनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जनाए ।
अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको उनको भनाइ छ ।
नगर प्रहरीले डोजर चलाएसँगै स्थानीय घरधनी र प्रहरीबीच केही बेर बिबाद भएको थियो । आफूहरु जनप्रतिनिधिको आदेश बमोजिम आएको भन्दै काममा अवरोध नगर्न नगरप्रहरीले आग्रह गरेको थियो ।
झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिएको हो । महानगरको टोलीले हिजो विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको थियो ।
त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडीबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई २० हजार रुपैयाँ जरिवाना गराएको थियो ।
नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोही अनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो ।
हालसम्म अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने कामपाको भनाइ छ ।
उक्त कार्य कामपाले सुरु गरेको एक महिना बित्न नपाउँदै उपत्यकाका अन्य र उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।
SHARE YOUR THOUGHTS