![](https://internal.appharu.com/wp-content/uploads/2022/10/311158715_855343062127381_6625036000231505466_n-768x514.jpg)
काठमाडौं । अन्तर्राष्टिय मुद्रा कोष(आइएमएफ)को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले ब्याजदर वृद्धिको निर्णय स्वभाविक भएको बताएकी छिन् । आइएमएफले आयोजनाको गरेको पत्रकार सम्मेलनमा जर्जिएभाले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनु परेको बताइन् ।
‘विश्व अर्थतन्त्र कठिन अवस्थामा छ । लामो समय ब्याजदर महँगो हुँदा आर्थिक वृद्धिमा नकारात्मक असर पर्छ,’ जर्जिएभाले भनिन्,‘ तर, महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनु पर्ने बाध्यता छ । आजको दिनमा गलत नीतिगत निर्णयले अर्थतन्त्रलाई ठूलो समस्यामा पुर्याउने छ ।’
सहि तरिकाले नीतिगत निर्णयको विषयमा जानकारी गर्न नसकिए झनै ठूलो समस्या आउने जर्जिएभाले बताइन् । कोरोना महामारीपछि सुधार भईरहेको विश्व अर्थतन्त्रलाई रसिया युक्रेन युद्ध र जलवायु परिवर्तनको असरले खराब अवस्थामा पुर्याएको जर्जिएभाको भनाई छ ।
‘बढ्दो महँगी र आम्दानीमा भएको गिरावटले धेरैले व्यक्तिले आर्थिक संकटको सामना गरिरहेका छन्’ जर्जिएभाले भनिन्, ‘विश्वमा आर्थिक गतिविधी सुस्त हुँदै गएपनि हामीले सन् २०२३ मा २.७ प्रतिशतले आर्थिक वृद्धि हुने हाम्रो अनुमान छ ।’
वित्त नीति र मौद्रीक नीतिमा तालमेल नमिले आगामी दिनहरु कठिन हुने जर्जिएभाले चेतावती दिईन् ।
‘अहिले आर्थिक वृद्धि गर्ने समय होइन । सबैलाई आर्थिक सहयोग गर्ने नीति दिगो हुने सम्भावना छैन,’ जर्जिएभाले भनिन्, ‘वित्त नीतिमार्फत खाद्य संकटको सामान गर्ने कमजोर वर्गलाई भने सहुलियत दिनु पर्छ ।’
वित्त क्षेत्रमा बढेको जोखिम र डलर महँगो बन्दै जाँदा विकासोन्मुख देशहरु संकटमा पुग्ने आइएमएफको चेतावनी छ ।
खाद्य पदार्थमा भएको मूल्य वृद्धिले कयौं व्यक्तिको भोकमरीबाट मृत्यू हुन सक्ने जोखिम बढेको आइएमएफले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । ‘जसले गर्दा खाद्यसुरक्षा सम्बन्धी नीति बनाएर काम गर्नु पर्छ ,’ जर्जिएभाले भनिन् ।
SHARE YOUR THOUGHTS