![](https://internal.appharu.com/wp-content/uploads/2022/10/mask.png)
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको स्वामित्व लिएपछि अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका समाचार अनुसार ट्विटरका सीईओ पराग अग्रवालसमेत दुई अन्य वरिष्ठ म्यानेजरलाई जागिरबाट हटाइदिएका छन् ।
भारतीय मूलका पराग अग्रवाल आईआईटी बम्बेबाट पढेका हुन् र उनी नोभेम्बर २०२१ मा ट्विटरका सीईओ बनेका थिए ।
एलन मस्कले ट्विटरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । र उनले सामाजिक सञ्जाल मिडिया कम्पनी ४४ बिलियन अमेरिकी डलरमा किन्ने डिल गरेका थिए ।
वशिङटन पोस्टका टेक रिपोर्टर फैज सिद्दिकले ट्विट गर्दै पराग अग्रवाल, नेड सीगल र विजया गडेलाई मस्कले जागीरबाट हटाइदिएका छन् ।
ट्विटरले यसबारे केही जानकारी भने दिएको छैन ।
मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए । केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए ।
उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो ।
समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए । उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन् ।
SHARE YOUR THOUGHTS