ब्रोकर कमिसनमा भ्याटः लगानीकर्ताले तिर्ने कि ब्रोकरले ? « Eglish Khabarhub

ब्रोकर कमिसनमा भ्याटः लगानीकर्ताले तिर्ने कि ब्रोकरले ?




काठमाडौं । धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) अब मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुने करिब तय भएको छ । शुक्रबार अर्थमन्त्री र राजस्व सचिब सहितका उच्च सरकारी अधिकारीसँगको छलफलपछि ब्रोकरहरु भ्याटमा दर्ता हुन सहमत भएका छन् ।

भ्याटमा दर्ता हुनु भनेको आफ्नो कारोबारमा भएको मूल्य अभिबृद्धिको आधारमा उपभोक्तासँग १३ प्रतिशत भ्याट उठाएर सरकारलाई बुझाउने अनुमति पाउनु होे । ब्रोकर भ्याटमा दर्ता हुँदा उनीहरुको कमिसनमा भ्याट लाग्ने भनिएको छ । ब्रोकर कमिसनको भ्याट कसले तिर्ने भन्ने अझै तय भएको छैन ।

यो विषयमा ब्रोकरको बुझाइ फरक छ । उनीहरु आफूले भ्याट तिर्ने नभै उपभोक्तासँग उठाएर सरकारलाई बुझाउने हो भन्नेमा ढुक्क छन् । सेयर कारोबारका उपभोक्ता भनेको सेयर लगानीकर्ता हुन् । भ्याटको सामान्य सिद्धान्त ( उपभोक्ताले तिर्ने) ब्रोकर कमिसनमा पनि लागू भयो भने कमिसनमा लाग्ने १३ प्रतिशत भ्याट लगानीकर्ताले तिर्नुपर्छ ।

आफूहरुले पाउने कमिसन रकमको १३ प्रतिशत थप शुल्क लगानीकर्ताले तिर्छन् र त्यही पैसा सरकारलाई भ्याटको रुपमा बुझाउने हो भन्ने ब्रोकरले बुझेका छन् ।

कर प्रशासनले पनि सामान्यतः यही अर्थमा बुझेको थियो । ब्रोकरले भ्याट उठाएर आफूलाई बुझाउनु पर्नेमा उनीहरु आनाकानी गरिरहेका छन् भन्ने बुझेर नै कर प्रशासनले ब्रोकरलाई भ्याटमा दर्ता हुन दबाब दिइरहेको छ ।

भ्याटको सिद्धान्त र सेयर कारोबारको प्रकृतिको विश्लेषण गर्दा ब्रोकर कमिसनमा भ्याट लगाउन त्यति सहज छैन । यसका धेरै पाटाहरुको विश्लेषण जरुरी छ ।

जस्तो एक जना ब्यक्तिले ५० हजार रुपैयाँको सेयर खरिद गर्यो भने उसले ब्रोकरलाई ३०० रुपैयाँ कमिसन (कारोबार रकमको ०.६ प्रतिशतका दरले) दिनुपर्छ । र, उसले फेरि त्यो सेयर ५० हजार रुपैयाँमा नै बेच्यो भने पनि सोही दरको कमिसन अर्थात ३०० रुपैयाँ नै ब्रोकर कमिसन तिर्नुपर्छ ।

ब्रोकर कमिसनको भ्याट लगानीकर्ता (उपभोक्ताले तिर्ने भ्याटको सामान्य सिद्धान्त अनुसार) ले तिर्ने हो भने माथिको उदाहरणमा सेयर खरिद गर्दा ३९ रुपैयाँ भ्याट तिरेको लगानीकर्ताले त्यही सेयर बेच्दा फेरि ३९ रुपैयाँ नै भ्याट तिर्नुपर्छ । अर्थात ५० हजार रुपैयाँको सेयर किनेको लगानीकर्ताले सोही मूल्यमा त्यही सेयर बेच्दासम्ममा ७८ रुपैयाँ भ्याट तिर्नुपर्ने हुन्छ । सेयर ब्रोकर कमिसनमा भ्याट यसैगरी लगाउन खोजिएको हो ?

भ्याटको सिद्धान्त अनुसार भ्याटमा दर्ता भएको करदाताले आफूले खरिद गरेको बस्तु तथा सेवाको मूल्यमा तिरेको भ्याट आफूले बिक्री गरेको बस्तु तथा सेवावाट प्राप्त भएको भ्याटमा समायोजन गर्न पाउँछ । सेयर कारोबारमा सेयर ब्रोकरले कुनै बस्तु तथा सेवा किनेको पनि हुदैन र बेचेको पनि हुँदैन । उसले त जम्मा खरिद बिक्रीको लागि मध्यस्त सेवा दिएको मात्रै हुन्छ । बिक्री गर्ने एउटा लगानीकर्ता हुन्छ भने खरिद गर्ने अर्काे लगानीकर्ता हुन्छ । यस्तो हुने भएपछि भ्याट समायोजन गर्ने मौका सेयर ब्रोकरले सिद्धान्ततः नपाउन सक्छन् ।

त्यसो भए सेयर कारोबारमा सेयर खरिद बिक्री कसले गरिरहेका हुन्छन् ? हो, लगानीकर्ताले गरिरहेका हुन्छन् । भ्याटले ब्यवस्था गरे अनुसारको खरिदकर्ता, विक्रीकर्ता र उपभोक्ता त्यही सेयर लगानीकर्ता हो । यस्तो हो भने भ्याट समायोजनको नियम अनुसार ब्रोकर कमिसनमा तिरेको भ्याट लगानीकर्ताले समायोजन गर्न पाउने कि नपाउने ?

सामान्य रुपमा हेर्दा पाउनु पर्ने देखिन्छ । यसमा अर्काे जटिलता छ । त्यो जटिलता के हो भने भ्याट समायोजन गर्न पाउने त भ्याटमा दर्ता भएका करदाताले हो । सेयर लगानीकर्ता भ्याटमा दर्ता भएका छैनन् वा हुदैनन् । भ्याटमा दर्ता नभएका करदाताले भ्याट समायोजनको सुबिधा पाउँदैनन् ।

ब्रोकर कमिसनमा भ्याट विबाद आएको ३ बर्षभन्दा बढी समय भइसक्यो । यो विषय कसरी सल्टाउने भन्ने टुंगो अझै लागेको छैन ।

Publish on: