निर्वाचनमा भएको खर्च विवरण ३५ दिनभित्र बुझाउन उम्मेदवार र दलहरूलाई आयोगको निर्देशन « Eglish Khabarhub

निर्वाचनमा भएको खर्च विवरण ३५ दिनभित्र बुझाउन उम्मेदवार र दलहरूलाई आयोगको निर्देशन



प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा गरेको खर्चको विवरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ३५ दिनभित्र खर्च विवरण पेस गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।


१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फः-

(क) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी निर्वाचन खर्चको विवरण बुझाउनु पर्नेछ।

(ग) उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ।

(घ) निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधि मार्फत मतदान सम्पन भएको मितिले पन्ध्र दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भएकोले सो समेत उल्लेख गर्नु पर्नेछ।

२. समानुपातिक निर्वाचन प्रणाली तर्फः

(क) समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची -३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नु पर्नेछ।

(ख) खण्ड (क) बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन (हेलिकप्टर प्रयोग गरेको भए सो समेत), प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्च उल्लेख गर्नु पर्नेछ।

(ग) राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेत उल्लेख गरी पेश गर्नु पर्नेछ।

३. बुँदा नं १ र २ बमोजिम निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउने प्रयोजनार्थ कार्यालयमा सूचना प्रकाशन गर्ने र सोही बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको IEIMS प्रणालीमा अभिलेख राखी सो सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने।

Publish on: