दाङ । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताएकी छन् ।
शुक्रबा बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको बताइन् ।
पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै उनले यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताइन् ।
माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन् ।
‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्नेकुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्नेकुरा शीर्ष नेताहरु बसेर छलफल गर्नुभएको छ, बाहिर सार्वजनिक भएकै कुरा हो । कोबाट शुरुवात हुन्छ भन्नेकुरा सहमतिमा गर्नुपर्छ । को व्यक्ति हुन्छ भन्नेकुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्नेकुरा महत्वपूर्ण छ’ उनले भनिन् ।
माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने भन्दै उनले माओवादीलाई विश्वास गर्न आग्रह गरिन् । नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताइन् ।
नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताइन् ।
SHARE YOUR THOUGHTS