![](https://internal.appharu.com/wp-content/uploads/2023/02/shakari-768x430.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले सहकारी संस्थाहरुलाई नियमन गर्न सकिने बताएका छन् । राष्ट्र बैंकले कारबाही गर्ने अधिकार पाउने हो भने नियमन गर्न सकिने उनको भनाइ थियो ।
आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा शिवाकोटीले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रीय बैंकले नियमनको जिम्मेवारी नलिने बताए ।
‘सहकारीको नियमन गर्ने भनेर अनुसन्धान गर्ने, अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कामका लागि मात्र राष्ट्र बैंकले नियमनको जिम्मेवारी लिँदैन,’ उनले भने, ‘ऐन नै संशोधन गरेर कारबाही गर्ने जिम्मेवारी दिने हो भने नियमन गर्न समस्या छैन ।’
राष्ट्र बैंककले नसके अर्को संस्था खोलेर भए पनि अनुगमन गराउने उनको भनाइ थियो । ‘राष्ट्र बैंकले नसके उसले अर्को संस्था खोलेर अनुगमन गराउँछ, त्यसको बोर्ड राष्ट्र बैंकले हेरेर पनि नियमन गर्छ । राष्ट्र बैंकले सहकारी नियमन महाशाखा खोलेर एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक, क्षमतावान कर्मचारी राखेर नियमन गर्ने छ’ उनले भने, ‘संशोधन हुने ऐनमा नै अनुगमन गरेर कारबाही गर्ने अधिकार नदिने हो भने केन्द्रीय बैंक पन्छन पनि सक्छ ।’
सहकारीमा समस्या आएपछि मात्र राष्ट्र बैंक गुहार्ने प्रचलन बढेको उनको भनाई छ । मनलाग्दी रुपमा सहकारी खोलिँदा समस्या भएको उनको जिकिर छ । थोरै पुँजीमा खोलिएको सहकारीले केहीलाई कर्जा दिएपछि पैसा सकिने अवस्था आएको उनको भनाइ छ । सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्ने तर्फ लाग्दा अहिले समस्या देखिएको उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS