‘सेतो सुन’को विषयमा अमेरिका र चीनबीच किन भइरहेको छ होडबाजी ? « Eglish Khabarhub

‘सेतो सुन’को विषयमा अमेरिका र चीनबीच किन भइरहेको छ होडबाजी ?



काठमाडौं । अहिले संसार दीर्घकालीन ऊर्जा अर्थात् हरित ऊर्जाको प्रयोगतर्फ बढिरहेको छ । हरित ऊर्जातर्फ विश्व अग्रसर भइरहँदा हरेक देशको नजर जुन कुरामा परेको छ, त्यसको सबैभन्दा ठूलो भण्डारण ल्याटिन अमेरिकाको तीन देशमा छ ।

अर्जेन्टिना, चिली र बोलिभिया संसारकै त्यो ‘लिथियम ट्राएंगल’ हुन्, जहाँ संसारमा भएको लिथियमको आधाभन्दा धेरै भण्डारण छ । यसकारण पनि दुनियाँभरकै सरकार र लगानीकर्ताको ध्यान ल्याटिन अमेरिकाको यो हिस्सामा केन्द्रित छ ।

भविष्यको ऊर्जा आवश्यकतालाई पूरा गर्ने यो खनिज विद्युतीय गाडी (ब्याटरीबाट चल्ने गाडीहरु)का लागि बन्ने ब्याट्रीमा प्रयोग हुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा लिथियमको बजार निरन्तर बढिरहेको छ । र अहिले कयौं मानिस यो क्षेत्रमा आफ्नो उपस्थितिलाई स्थापित गर्नका लागिपरेका छन् ।

अमेरिका र चीन जस्ता देश पनि यो महत्वपूर्ण खनिजमाथि कब्जा जमाउने प्रयत्नमा छन् ।

चर्चित थिंकट्यांक विल्सन सेन्टरको ल्याटिन अमेरिका कार्यक्रमका निर्देशन बिन्यामिन गेदन भन्छन्, ‘विश्व नयाँ ऊर्जातर्फ बढिरहेको छ र यसका लागि आवश्यक खनिजमाथि कब्जा गर्ने विषयलाई लिएर ठूला शक्तिबीच होडबाजी भइरहेको छ । अहिले ल्याटिन अमेरिका यो ‘नयाँ युद्ध’को मैदान बनेको छ ।’

चीनले यो विषयमा आफ्नो कदम पहिले नै सुरु गरिसकेको छ भने अमेरिका यो यात्रामा केही पछि रहेको छ । तर, अहिले अमेरिका पनि यो यात्रामा चीनको पछि नरहने चाहना देखाइरहेको छ ।

चीनको प्रयास

चिनियाँ कम्पनीहरु वर्षौंदेखि विश्वका हरेक कुनामा ‘सेतो सुन’ भनिने यो खनिजको खोजी गर्ने प्रयास गरिरहेका छन् ।

यसका लागि उनीहरुले ल्याटिन अमेरिकाका ती देशमा पनि ठूलो मात्रामा लगानी गरेका छन्, जहाँ विश्वभर रहेको लिथियमको भण्डारणको करिब ६० प्रतिशत हिस्सा रहेको छ ।

अमेरिकी जियोलोजिकल सर्वेको एक रिपोर्टकाअनुसार सन् २०२२ सम्ममा विश्वभरमा ८६० लाख टन लिथियम भण्डारण भएको पत्ता लागेको छ ।

यसको सबैभन्दा ठूलो भण्डारण बोलिभियामा छ । त्यसपछि यो सूचीमा अर्जेन्टिना, चिली, अमेरिका, अष्ट्रेलिया र मेक्सिको छन् ।

लिथियमको उत्खनन र ठूलो मात्रामा उत्पादन गर्ने विषयमा चिली अगाडि छ भने मेक्सिको पनि आफूसँग भएको १७ लाख टन सीमित लिथियमको भण्डारणलाई प्रयोग गर्दै उत्तर अमेरिकामा आफूलाई लिथियम बजारमा ठूलो खेलाडीको रुपमा स्थापित गर्न चाहिरहेको छ ।

भौगोलिक रुपमा अमेरिका र क्यानडा नजिक छन् । ब्याट्रीबाट चल्ने गाडीहरुको उत्पादनमा पनि यी देश केन्द्र बन्दै गइरहेका छन् । पछिल्ला दिनमा टेस्ला र बीएमडब्लूजस्ता ठूला कार निर्माता कम्पनीले मेक्सिकोमा कारखाना बनाएका छन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले यही वर्ष टेस्ला कारको निर्माणका लागि कारखाना मोन्टेरोमा बन्ने पुष्टि गरेका थिए । यो स्थान अमेरिकाको टेक्ससदेखि करिब तीन घण्टा मात्रै टाढा छ ।

यही वर्ष फेब्रुअरीमा बीएमडब्लूले पनि सन् २०२७ बाट आफ्नो नयाँ कार उत्पादन मेक्सिकोको सैन लुई पोतोसीमा आफ्नै कारखानाबाट बनाउने जनाएको छ । यो कारखाना सन् २०१९ मा बनाइएको थियो ।

कुनकुन देशमा छ लिथियमको ठूलो भण्डार ?

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार संसारकै सबैभन्दा धेरै लिथियम बोलिभियामा छ । बोलिभियामा २१० लाख टन लिथियम छ ।

त्यस्तै, अर्जेन्टिनामा १९३ लाख टन, चिलिमा ९६ लाख टन, अष्ट्रेलियामा ६४ लाख टन, चीनमा ५१ लाख टन, कंगोमा ३० लाख टन, क्यानडामा २९ लाख टन, जर्मनीमा २७ लाख टन, मेक्सिकोमा १७ लाख टन र ब्राजिलमा ४.७ लाख टन लिथियमको भण्डारण रहेको हालसम्मको रिपोर्टहरुले देखाएका छन् ।

अमेरिकाको असन्तुष्टि

गत वर्ष मार्चमा अमेरिकाको ‘सदर्न कमान्ड’की प्रमुख जनरल लारा रिचर्डसनले संसदको ‘आम्र्ड सर्भिसेज कमेटी’को सामुन्ने चीनले ल्याटिन अमेरिकामा लगानी बढाइरहेको बताएकी थिइन् ।

‘चीन आर्थिक र कुटनीतिकस्तरमा र प्रविधि, सूचना र सैन्ष्य उपस्थितिको विषयमा ल्याटिन अमेरिकी र क्यारेबियन देशमा आफ्नो कदम चालिरहेको छ,’ उनले चेतावनीका साथ भनेकी थिइन, ‘यो क्षेत्र खनिजले भरिएको छ । र मलाई हाम्रा विरोधीहरुले यो कुराको फाइदा उठाउनेमा चिन्ता लागेको छ । यसको फाइदा उठाउन सकिन्छ । उनीहरुले यो क्षेत्रमा लगानी गरिरहेको जस्तो देखिएपनि वास्तवमा उनीहरुले यहाँका स्रोधसाधनको दोहन गरिरहेका छन् ।’

उनले अर्जेन्टिना, बोलिभिया र चिलीको दक्षिण अमेरिकी ‘लिथियम ट्रयांगल’को विषयमा चीले आक्रामक रुपमा लगानी गरिरहेको बताएकी थिइन । यो त्रिकोणलाई लिएर चीनले निकै आक्रामक रणनीति अपनाइरहेको छ । लिथियमको क्षेत्रमा चीनले निकै प्राविधिक रुपमा काम गरिरहेको उनले बताएकी थिइन् ।

चीन के भन्छ ?

जुन समय अमेरिका र अन्य देशहरु ऊर्जाको क्षेत्रमा पारम्परिक ऊर्जा (हाइड्रोकार्बन)को स्रोतबाट मुक्त हुने बाटोमा पाइला चाल्ने योजना बनाइरहेको छ, चीन पहिले नै यो बाटोमा हिँडिरहेको छ ।

चीनको नजर पहिले नै लिथियम नामको यो महत्वपूर्ण खनिजमा रहेको छ, जुन अबको समयमा विश्व बजारमा सबैभन्दा महत्वपूर्ण वस्तु हुनेवाला छ ।

चीनले सन् २००१ मा एक दीर्घकालिन योजना बनाएको थियो । आफ्नो १० औं पञ्चवर्षिय योजनामा चीनले हरित ऊर्जा आफ्नो विशेष प्राथमिकताको क्षेत्र मानेको थियो । र सन् २००२ मा विद्युतीय गाडी बनाउनका लागि चीनले लगानी गरेको थियो ।

यो वर्ष जनवरीमा चीनको प्राकृतिक संसाधन मन्त्री वांग ग्वांगहुवाले चीनको सरकारी समाचार एजेन्सी शिन्हुवासँगको एक अन्तर्वार्तामा भनेका थिए, ‘कैयौं खनिजको विषयमा चीनको निर्भरता धेरै हदसम्म विदेशमा छ । यदि अन्तर्राष्ट्रियस्तरमा स्थिति परिवर्तन भएका यसको असर आर्थिक सुरक्षा र राष्ट्रीय सुरक्षामा पर्न सक्छ ।’

सन् २०१६ मा चीको सरकारले राष्ट्रिय खनिज संसाधन योजना पेश गरेको थियो, जसमा चीनले रणनीतिक रुपमा महत्वपूर्ण २४ खनिजको नाम सामेल गरेको थियो । यसमा तेल, प्राकृतिक ग्यास, कोइला, शेल ग्यास, फलाम, तामा, एल्युमिनियम, सुन, निकल, कोबाल्ट, लिथियमलगायतका कैयौं खनिजहरु सामेल थिए ।

चीनको यो योजनाकाअनुसार यी खनिजहरु ‘राष्ट्रको रक्षा र देशको आर्थिक सुरक्षाका लागि आवश्यक छ । साथै बढ्दै गएको व्यापारका लागि पनि रणनीतिक रुपमा आवश्यक छ ।’

ल्याटिन अमेरिकामा चीनको लगानीमा वृद्धि

एकतर्फ चीन दक्षिण अमेरिकाका देशहरुमा उत्खननसँग जोडिएको व्यापारमा आफ्नो लगानी बढाइरहेको छ भने दोस्रोतर्फ ‘लिथियम ट्रायांगल’का तीन देशहरु पनि स्थानीय उद्योगको विकासमा चीनको उन्नत शैली र ठूलो लगानीको फाइदा लिन चाहन्छन् ।

यो वर्ष फेब्रुअरीमा चीनका तीन कम्पनी (सीएटीएल, बीआरयुएनपी, सीएमओसी)ले बोलिभियाको सरकारकी कम्पनीसँग लिथियमका लागि एक अर्ब अमेरिकी डलरको सम्झौता गरेको थियो । यो परियोजनाअनुसार सन् २०२५ सम्ममा ठूलो मात्रामा लिथियमको निर्यात हुन सक्छ ।

लिथियमको उत्खनका लागि अर्जेन्टिना र चीनबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा निकै गहिरो हुँदै गएको छ । सन् २०२२ मा मात्रै चीनका नौ कम्पनीहरुले अर्जेन्टिनाको साल्टा, काटामर्का र जुजुरीजस्ता ठाउँमा फरक फरक परियोजनाहरुमा लगानीको घोषणा गरेका छन् ।

गत वर्ष जुनमा चीनको एक कम्पनीले अर्जेन्टिनाको एक सरकारी कम्पनीसँग लिथियम कार्बोनेटका दुई उद्योगका लागि सम्झौता गरेको थियो । चीनको यो कम्पनी फक्सवागन र गिलीजस्ता कम्पनीहरुका लागि ब्याट्री बनाउने गर्छ ।

यो वर्ष लिथियमको उत्खननका लागि चीनको एक कम्पनीले अर्जेन्टिनामा ठूलो रकम लगानी गर्ने घोषणा गरेको छ । गाडी बनाउने चीनियाँ कम्पनी चेरी अटोमोबाइलले पनि ब्याटरीबाट चल्ने गाडी उत्पादनका लागि अर्जेन्टिनामा ४० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

गत वर्ष जनवरीमा चिली सरकारले चीनको एक कम्पनीसँग लिथियमको उत्खननको विषयमा सम्झौता गरेको छ । यो सम्झौताअनुसार कम्पनीले ८० हजार टन लिथियम उत्खनन गर्न सक्नेछ । कैयौं अरु चीनियाँ कम्पनीहरुले चिलीको अन्तोफगास्तामा बनिरहेको लिथियम इन्डस्ट्रियल पार्कमा ठूलो लगानी गर्ने घोषणा गरेका छन् ।

लिथियमलाई लिएर विश्वशक्तिकाबीच संघर्ष

थिंक ट्यांक अटलान्टिक काउन्सिलमा एड्रियन आर्श ल्याटिन अमेरिका सेन्टरमा सहायक प्राध्यापक रहेका पेपे जांग भन्छन्, ‘महत्वपूर्ण खनिज र हरित ऊर्जासँग जोडिएका प्राविधिक विषयमा अमेरिका वैश्विक वितरण प्रणालीमा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । यो कारण लिथियम अमेरिका र चीनबीच प्राविधिक र भूराजनीतिक रुपमा नै प्रतिद्वदिताको मुद्दा बनेको छ ।’

चीन यो विषयलाई लिएर तीव्रताका साथ काम गरिरहेको छ । जांगकाअनुसार लिथियमको विषयलाई लिएर चीनले ल्याटिन अमेरिका र आसपासका क्षेत्रमा गरेको लगानी निकै महत्वपूर्ण छ ।

सन् २०२० र सन् २०२१ मा मात्रै चीनले यो क्षेत्रमा करिब १.१ अर्ब अमेरिकी डलर लगानी गरेको छ । र अबका वर्षहरुमा यो तथ्यांकमा थप बृद्धि पनि आउन देखिएको छ ।

शोधकर्ताहरुकाअनुसार गत जनवरीमा मात्रै चीनका कम्पनीहरुले बोलिभियामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने कुरा गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला डी सिल्वाले चीनियाँ राष्ट्रपति शी जिङपिङसँग हालसालै भेटर्वार्ता गरेका थिए । यसबीच यी दुई नेताहरुले पनि द्विपक्षीय व्यापारका २० सम्झौताहरुमा हस्ताक्षर गरेका छन् ।

लिथियमलाई लिएर अमेरिका र चीनले आफ्नै आफ्नै किसिमले कदम चालिरहेका छन् । अबको समयका लागि महत्वपूर्ण आवश्यकताको रुपमा विकास भइरहेको लिथियमकै कारण अमेरिका र चीनबीच अप्रत्यक्ष द्वन्द्व नै सुरु भएको पनि विश्लेषकहरुले बताएका छन् ।

Publish on: