अयोग्य लडाकूलाई २ लाख दिन लागेको भन्दै युवा संघद्वारा प्रधानमन्त्री दाहालको पुत्ला दहन « Eglish Khabarhub

अयोग्य लडाकूलाई २ लाख दिन लागेको भन्दै युवा संघद्वारा प्रधानमन्त्री दाहालको पुत्ला दहन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।

शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारबिरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री दाहालको पुत्ला दोहन गरेको हो ।

त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारबिरुद्ध नाराबाजी लगाएका थिए । अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेगरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार (हिँजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
थेबेको भनाइ जस्ताको त्यस्तै

आम नेपालीहरुको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौं रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ । यो अयोग्य लडाकुहरुको नाममा अर्बौ घोटला हुनेगरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौं । हिजो ज्ञापन पत्र बुझाएका थियौं । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधिबेहरी ल्याएर यो सरकारलाई घुडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ ।’

Publish on: