
काठमाडौं । बितेको एक दशकमा नेपालीको औसत प्रतिव्यक्ति आय वृद्धिदर अत्यन्तै सुस्त देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का आधारमा नेपालीको औसत आय १ हजार ३९९ अमेरिकी डलर छ ।
गत वर्षको तुलनामा यो वर्ष प्रतिव्यक्ति आम्दानी नबढेको कार्यालयको तथ्यांकले देखाउँछ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर नै अत्यन्त सुस्त छ । मंगलबार सार्वजनिक तथ्यांकअनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतले मात्र छ ।
त्यसअघिका ७ वर्ष पनि प्रतिव्यक्ति आय कछुवा गतिमा थियो । प्रतिव्यक्ति आय आव २०६३/६४ मा ४१० अमेरिकी डलर, ६४/६५ मा ४९१ डलर, ६५/६६ मा ४९६ डलर, ६६/६७ मा ६०९ डलर, ६७/६८ मा ८१६ डलर, ६८/६९ मा ८०८ डलर र २०६९/७० मा ८१४ डलर थियो ।
पञ्चायती व्यवस्था सुरु हुँदा २०१७ सालमा ५० डलर रहेको नेपालीको प्रतिव्यक्ति आय ६१ वर्षमा बल्ल १३ सय ९९ डलर पुगेको छ । त्यसबेला विश्वका नागरिकको औसत प्रतिव्यक्ति आय ४५९ डलर थियो ।
पञ्चायत कालमा हामी निकै सुस्त थियौं । २०४६ सालमा विश्वका नागरिकको औसत प्रतिव्यक्ति आय ४ हजार ३१४ डलर पुग्दा हाम्रो १९२ डलर मात्र पुग्यो ।
पञ्चायतपछिको व्यवस्थामा पनि नेताहरुले हामीलाई निराश बनाएका छन् । बहुदल आएपछिका ३३ वर्षमा विश्वका नागरिकको औसत आम्दानी १३ हजार डलर पुग्दा हाम्रो १ हजार ३९९ मात्र छ ।
दक्षिण एसियाली बंगलादेशकै आय हाम्रोभन्दा ५ गुणा धेरै छ । दुई दशक अघिसम्म उस्तै-उस्तै रहेका भारत, चीन, कोरिया, मलेसियालगायतका देशहरु धेरै माथि पुगिसके ।
तर, हामीकहाँ सत्ताको लुछाचुँडीका कारण आर्थिक क्षेत्र ओझेलमा परेको अर्थविद् एवं पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन्।
‘आर्थिक क्षेत्र कहिल्यै नेताहरुको प्राथमिकतामा परेन,’ उनले भने, ‘त्यसको भार हामी र हाम्रा सन्ततिलाई पर्ने निश्चित भएको छ।’