
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसद देशको विकासबारे छलफल गर्ने थलो हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीमाथि आरोप लगाउने ठाउँ भन्दै प्रश्न गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले दोषीमाथि पक्राउ पुर्जी जारी गर्दा जोगाउन खोजिएको आरोप लगाइन् । उनले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय जगतसँग कसरी अनुदान माग्न जाने भन्दै प्रश्न गरिन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’ डा. कार्कीले भनेकी छन् ।
कार्कीले भ्रष्टाचारमा लिंग नजोडिने बताएकी छन् । नेपाली कांग्रेसकी सांसद् डा. आरजु राण देउवातर्फ संकेत गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भन्दै प्रश्न गरेकी हुन् ।
केही दिन अगाडि डा. देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन् ।
‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला बिद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्यो । भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ। अपराध भएको छर कारबाही हुनुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया