आगामी बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नुपर्छ: विनोद चौधरी

काठमाडौं । उद्योगीसमेत रहेका सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नु पर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद चौधरीले २०४८ पछि आर्थिक उदारीकरणमार्फत गरिएको सुधारले आज मुलकका निजी क्षेत्रको संस्थागत विकास हुन सकेको बताउँदै आगामी आर्थिक वर्षको बजेट बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नु पर्ने उल्लेख गरे ।

‘२०४८ पछि आर्थिक उदारीकरणमार्फत गरिएको सुधारले आज मुलकका निजी क्षेत्रको संस्थागत विकास हुन सकेको हो,’ उनले भने, ‘सोही नीतिको प्रतिफल दूरसञ्चार, बैंक वित्तीय संस्था हस्पिटालिटी, यतायता तथा हवाइ उड्डयन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ ।’

२०४८ पछिको नीतिले नयाँ क्षेत्रहरु विकास भएको भए पनि त्यसपछि दोस्रो चरणको सुधार अघि बढाउन नसकिएको उनले बताए ।

‘यस नीतिले कूल गार्हस्थ उत्पादनको झण्डै ३५ प्रतिशत हिस्सा ओगट्ने नयाँ क्षेत्रहरु विकास भएका थिए तर त्यसपछि हामीले दोस्रो चरणको सुधारहरुलाई अघि बढाउन सकेनौं’ चौधरीले भने ।

विश्व अर्थतन्त्रको दिशा यसबीचमा यू टर्न भएको उनले बताए । सूचना प्रविधिमा आधारित व्यवसायहरु अर्थतन्त्रको अघिल्लो पंक्तिमा अभिएको उनको भनाइ छ ।

आजको दुनिया डिजिटल वर्ल्डका कारणले नव प्रवर्तनमा अघि बढेको बताउँदै फेसबुक, ह्वाट्सअपजस्ता कम्पनी यही क्रान्तिका कारण अग्रणी स्थानमा भएको उनले बताए ।

आर्थिक मन्दीले राजस्व संकलन चुनौतीपूर्ण बनेको चौधरीले बताए ।

‘वैशाख २५ सम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्र संकलन भएको छ’ चौधरीले भने,’जीडिपीमा राजस्वको अनुपात २० प्रतिशत पुगेको छ । जबकी भारतमा १२ र बंगलादेशमा ७ प्रतिशत मात्र रहेको छ ।’

जीडीपीको तुलनामा सबैभन्दा उच्च अनुपातमा राजस्व उठाउने नेपालको संकलन एवं चुहावट पनि त्यतिकै गम्भीर रहेको उनले बताए ।