मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ३.५% ले बढ्यो, कुन क्षेत्रमा कति ?


काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५० अर्ब ६४ करोड (१३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३७.१ प्रतिशत रहेको थियो । नौ महिनाको अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.४ प्रतिशत, विकास बैंकहरुको ४.७ प्रतिशत र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ ।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ । ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।
२०७८ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले बढेको छ ।

९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.९ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ । यस्तै अधिविकर्ष कर्जा ६५.८ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.७ प्रतिशतले र हायर पर्चेज कर्जा १४.६ प्रतिशतले घटेको छ ।