
काठमाडौं । बचतकर्ता ठग्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका कार्यकारी अध्यक्ष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बूढानीलकण्ठ–९ एकता बस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताबाट करोडौं रुपैयाँ उठाउको र उक्त रकमले सेयर बजार, घर जग्गामा लगानी गरेर पैसा फिर्ता नगरेपछि ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार सहकारीका कार्यकारी अध्यक्ष शर्माका साथै उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ , सदस्य (ऋण संयोजक) विर बहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की पक्राउ परेका छन् । उनीहरुलाई जेठ १६ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
सहकारीका अध्यक्ष लगायत पदाधिकारी व्यवस्थापकले ठगेको भन्दै १७७ जनाले उजुुरी दिएका थिए । उनीहरुबाट ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ ठगी गरेको उजुरी ब्यूरोमा परेको बताइएको छ ।
उनीहरुले बचतकर्ताको पैसाबाट व्यक्तिगत लाभका लागि सेयर खरिद गर्ने, घर जग्गा खरिद बिक्री गर्ने गरेको र पैसा फिर्ता माग्न जाँदा बचतकर्तालाई विभिन्न प्रलोभनमा पारेर ठगेको प्रहरीले जनाएको छ ।

SHARE YOUR THOUGHTS