भारत र नेपालबीच अन्तरदेशीय क्यूआर कोड भुक्तानी गर्ने सम्झौता, पर्यटकलाई सजिलो « Eglish Khabarhub

भारत र नेपालबीच अन्तरदेशीय क्यूआर कोड भुक्तानी गर्ने सम्झौता, पर्यटकलाई सजिलो



काठमाडौं । नेपाली भारत जाँदा र भारतीय नागरिक नेपालमा आउँदा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा अन्तरदेशीय भुक्तानी सम्झौतासँगै क्यूआर कोडबाट भुक्तानी गर्न बाटो खुलेको हो । सो सम्बन्धी सम्झौतामा नेपाल क्लियरिंग हाउसका सीइओ निलेशमान सिंह प्रधान र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाका सीइओ रितेश शुक्लाले हस्ताक्षर गरे ।

क्यूआर कोडमार्फत् भुक्तानी गर्नसक्ने यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागु भएको छ । अब मोबाइल बैंकिङ तथा मोबाइल वालेटको क्यूआर कोडमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

यस्तै नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत् भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । हालसम्म ३३ बढी देशमा यूपीआई लागू भइसकेको छ । भारतमा यूपीआई सन् २०१६ देखि लागू भएको छ ।
दुई देशबिच जीटूजी (सरकार–सरकार) सम्झौताले बाटो खोलेसँग अब त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने छ ।

अब नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच छलफल गरेर पूर्वाधार तयार पारेपछि कार्यान्वयनमा आउनेछ ।

नेपाल र भारतमा खुल्ला सीमा भएकाले भारतीय र नेपालीको आउजाउ निकै हुन्छ । यो व्यवस्था लागू भएपनि नगद सटहीको समस्या न्यून हुने छ । नेपालमा धेरै पर्यटक भारतबाट आउने गर्छन । नेपालमा ५ सय भन्दा ठूलो नोट चल्दैन । अब भने क्यूआरबाट कारोबार हुने हुँदा नोट सटहीमा पर्यटक तथा सेवा दिनेलाई पनि सहज हुने भएको छ । यसले नेपालमा आउने पर्यटकलाई समेत सहज हुने भएको छ ।

सम्झौतासँगै नेपाल क्लियरिङ हाउस र नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) ले यूपीआई सेवाका लागि प्राविधिक सहकार्य हुनेछ । नेपालमा क्लियरिङ हाउसले नेशनल रिटेल पेमेन्ट स्वीच सुरु गरेको छ । भारतमा यूपीआई प्रणालीमार्फत् विद्युतीय कारोबार एनपीसीआईले गर्ने गरेको छ ।

Publish on: