भारतमा नेपालको प्रधानमन्त्रीको रुपमा भएको यो मेरो चौथो औपचारिक भ्रमण हो । सन् २००८ को सेप्टेम्बर र दुई पटक सन् २०१६ को सेप्टेम्बर र अक्टोबरको भ्रमण सम्झिन्छु ।
हामी प्रधानमन्त्री मोदीज्यूको सक्षम नेतृत्वमा भारतमा भएको उल्लेखनीय आर्थिक रुपान्तरण र विकासका परिदृश्य देखेर खुसी छौं । धेरै क्षेत्रमा प्राप्त प्रगतिसँगै यसै साता सरकारमा आफ्नो ९ वर्ष पूरा गर्नुभएकोमा मोदीजीलाई म हार्दिक बधाई दिन्छु ।
नेपाल र भारतबीचको सम्बन्ध धेरै पुरानो हो र निकट पनि छ । यो सम्बन्ध ठोस संरचनामा आधारित छ । सांस्कृतिक, धार्मिक, आर्थिक तथा सभ्यता र अन्य आधारमा जोडिएको छ ।
हामीले आज, अघि मोदीजीले भनेजस्तै हाम्रो सम्बन्धको विकासको बारेमा निकै गहिरो समीक्षा गरेका छौं । आगामी दिनमा पनि हाम्रो सम्बन्धलाई बलियो र सुदृढ बनाउने प्रतिबद्धतालाई हामीले नवीकरण गरेका छौं । म प्रधानमन्त्री मोदीजी र उनको छिमेक नीतिप्रति आभारी छु ।
आजको भेटमा हामीले आगामी दिनमा पनि व्यापार, ट्रान्जिट, लगानी, जलविद्युतको विकास, ऊर्जाको व्यापार, सिँचाइ र कृषिलगायत हवाई उडान प्रवेशको रुट, पेट्रोलियम पाइपलाइनको विस्तार, इन्टिग्रेटेड चेकपोस्टको विकासजस्ता विभिन्न क्षेत्रमा सहकार्यलाई थप बलियो बनाउने विषयमा कुरा गरेका छौं ।
आज तपाईंहरु सबैले देख्नु नै भयो, प्रधानमन्त्री मोदीजी र मैले भर्चुअल रुपमा उद्घाटन गरेका छौं । केही सम्झौतामा हस्ताक्षर भएर साटासाट भएका छन् । हामीले जलविद्युत परियोजनाको क्षेत्रमा नेपालमा भएको प्रगति र अन्तरदेशीय प्रसारणलाइन निर्माणको विषयलाई समीक्षा गरेका छौं ।
यो हाम्रो आर्थिक साझेदारीको एक महत्वपूर्ण पक्ष हो । नेपालको जलविद्युतले हाम्रो अर्थतन्त्र र ऊर्जा सुरक्षालाई योगदान दिने मात्रै नभएर हाम्रो वातावरणप्रतिका लक्ष्यहरुलाई सम्झाउन महत्वपूर्ण भूमिका खेल्छन् ।
म नेपालबाट ४५२ मेगावाट ऊर्जा आयात गरेकोमा भारतप्रति आभारी छु । र, प्रधानमन्त्री मोदीसमक्ष नेपालबाट थप १२ सय मेगावाट, जसमा ४५६ मेगावाट अप्पर तामाकोसीबाट, भारतमा ऊर्जा पठाउनका लागि अनुमति दिन पनि अनुरोध गर्छु । म प्रधानमन्त्री मोदीसमक्ष यस विषयमा दिनुभएको सकारात्मक प्रतिक्रियाका लागि आभारी छु ।
लामो समयका लागि हुने ऊर्जा व्यापारको सम्झौता पूरा भएको छ । यो सम्झौताअनुसार भारतले आगामी १० वर्षभित्रमा नेपालबाट १० हजार मेगावाट ऊर्जा आयात गर्नेछ ।
म भारतप्रति नेपालबाट बंगलादेशमा ऊर्जा पठाउनका भारतको बाटो प्रयोग गर्ने विषयमा देखाएको सकारात्मकताका लागि पनि आभारी छु । हामीले ५० मेगावाटसम्मको ऊर्जा नेपालबाट बंगलादेश निर्यात गर्न भारतको बाटो प्रयोग गर्नेमा सहमति गरेका छौं । यो सहमति कार्यान्वयनमा ल्याउन तीन देशहरुले छिट्टै नै काम गर्नेछन् ।
SHARE YOUR THOUGHTS