काठमाडौं । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएसँगै आजबाट थुनछेक प्रारम्भ हुँदै छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको हो ।
आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ ।
शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खातीले जानकारी दिए ।
त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।
उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।
SHARE YOUR THOUGHTS